आगलागी हुँदा एकजनाको मृत्यु, दुई घाइते

आगलागी हुँदा एकजनाको मृत्यु, दुई घाइते

मोरङ। विराटनगर महानगरपालिका–१४ को एक घरमा आगलागी हुँदा बालकको मृत्यु भएको छ। अरु दुईजना घाइते भएका छन्।

ईलाका प्रहरी कार्यालय रानी, विराटनगरका प्रहरी निरीक्षक दीपक थापाका अनुसार महानगरपालिका–१४ झटियायीमा शुक्रबार मध्य रातमा स्थानीय राजेश दासको घरमा आगलागी भएको हो ।

बाँस र जस्तापाताको छानो भएको घरमा आगलागी हुँदा दासका १४ वर्षीय छोरा रविन दासको जलेर मृत्यु भएको हो। घर नजिक बालिएको घुरबाट आगलागी भएको हुनसक्ने प्रहरी निरीक्षक थापाले बताएका छन् ।

आगलागीबाट राजेशकी ३२ वर्षीया श्रीमती इन्दुमति दास र सात वर्षीय छोरा किसन दास घाइते भएका छन् । उनीहरुको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरुको अवस्था सामान्य रहेको निरीक्षक थापाले बताए । आगलागीबाट करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । प्रहरी, वारुणयन्त्र र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।