बैतडी : हिंसामा परेका महिलाहरुलाई सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरिएको महिला सुरक्षित आवास गृहबाट बैतडीमा गएको दुई बर्षको अवधिमा करिब 100 जना हिंसा पीडित महिलाले सेवा लिएका छन् ।
वि स २०७३ सालदेखि पाटनमा सञ्चालित महिला सुरक्षित आवास गृहमा हालसम्म ९९ जना हिंसा पीडित महिलाले सेवा लिएका हुन्। महिला सुरक्षित आवास गृहमा सेवा लिन आएका महिला मध्ये अधिकांश बहुविवाहका कारण हिंसामा परेको देखिएको छ भने मुख्य कारण बालविवाह रहेको परोपकार ग्रामीण विकास संघका कार्यक्रम संयोजक लोकेन्द्रप्रसाद पन्तले जानकारी दिए।
सानो उमेरका विवाह गरेका कारण पुरुषले बहुविवाह गर्ने र त्यसपछि उनीहरुलाई घरमा बस्ने वातावरण नहुँदा हिंसामा पर्ने गरेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए । हिंसाको प्रतिरोध गर्न हिंसापिडित महिलाहरुलाई सुरक्षित महिला आवास गृह मार्फत सजिलो पनि भएको छ । उनले भने, 'महिला सुरक्षित आवास गृहमा हिंसामा परेकाहरुलाई मनोसामाजिक परामर्श समेत दिने गरिएको छ' ।