प्रस्तावित ल्याण्डफिल साइटबाट प्रभावित क्षेत्रका बासिन्दाद्वारा बिरोध प्रदर्शन

प्रस्तावित ल्याण्डफिल साइटबाट प्रभावित क्षेत्रका बासिन्दाद्वारा बिरोध प्रदर्शन

धनगढी : धनगढी उपमहानगरपालिकाले फोहोरमैला ब्यवस्थापन केन्द्र बनाउन प्रस्ताव गरेको क्षेत्रका बासिन्दाहरुले आज धनगढीमा त्यसको विकल्प खोज्न माग गर्दै प्रदर्शन गरेका छन् ।

उपमहानगरपालिकाको वडा नम्बर २ मा प्रस्तावित फोहोरमैला ब्यवस्थापन केन्द्रबाट प्रभावित हुने स्थानीय बासिन्दाहरुले आज बिरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले बस्तीबाट टाढा हुनुपर्ने नियम भएपनि आफुहरुको बस्ती नजिकै बनाउन लागिएकोले बिरोध गरिएको बताएका छन् ।

उनीहरुले प्रभावित क्षेत्रका केही नागरिकहरुलाई देशका अन्य स्थानीय तहहरुले सञ्चालन गरेका फोहोरमैला ब्यवस्थापन केन्द्रको अध्ययन भ्रमणमा लैजाने क्रममा आफुहरुसित सल्लाह नभएको भन्दै भ्रमणको समेत बिरोध गरेका छन् प्रस्तावित क्षेत्रमा फोहोरमैला ब्यवस्थापन केन्द्र बनाउने कुरामा बिरोध प्रदर्शन गरेका उनीहरुले आफ्नो बस्तीमा फोहोरमैला ब्यवस्थापन केन्द्रका नाममा फोहोर फाल्ने स्थान बनाउन लागिएको बताएका छन् ।

जतिसुकै उच्चस्तरीय प्रविधि बने पनि त्यसको असर बस्तीमा दीर्घकालमा देखिने भएका कारण आफुहरुले बिरोध गरेको अर्का स्थानीय शान्ति थापाले बताउनुभयो । प्रस्ताव गरिएको क्षेत्रमा आफुहरुले बनाउन नदिने बताउँदै स्वास्थ्य स्वयम सेविका समेत रहेका पार्वती फुलाराले आफुले यो बिषयमा युट्युबमा खोजी गरेर हेर्दा, पढ्दा पनि त्यसले असर नगर्ने कुरा कतै नभेटेकोले आन्दोलन गरेको बताउनुभयो ।

धनगढी उपमहानगरपालिकाले फोहोरमैला ब्यवस्थापन केन्द्र भएका पोखरा महानगरपालिका सहितका उपमहानगरपालिका र नगरपालिकाहको भ्रमणमा प्रभावित क्षेत्रका केही मानिसलाई लगेकोमा समेत उनीहरुको बिरोध छ । आफुहरुले असहज परिस्थितिमा पनि आफुहरु सो स्थानमा बसेकोले फोहोरमैला ब्यवस्थापन केन्द्र बने मात्रै विकास योजना शुरु गर्ने कुरामा आफुहरुलाई विश्वास नभएको स्थानीय बीर बहादुर ऐरीले बताउनुभयो ।

तर उपमहानगरपालिका भने बिस्त्रित रुपमा अध्ययन भएरै नै सो रोजिएको दाबी गर्छ । प्रदर्शन पछि उपमहानगरपालिकाका उप प्रमुख सुशिला मिश्र भट्टसित पूर्व वडा अध्यक्ष कृष्ण मल्लको नेतृत्वमा भेट गरेको टोली आफहुरुसित सल्लाह नै नगरी भ्रमणमा पठाएकोमा बिराध जनाएको थियो ।

उप प्रमुख भट्टले बिज्ञको सल्लाह र सुझावका कारण त्यहाँ प्रस्ताव गरिएको जानकारी दिनुभयो । उहाँले बाताबरण र बस्तीमा असर नपर्ने हुनाले सो स्थान उपयुक्त भएको प्रतिवेदनका आधारमा प्रस्ताव गरिएको बताउनुभयो ।