सुदुरपश्चिम खप्तड गोल्डकपको खेल तालिका सार्वजनिक

सुदुरपश्चिम खप्तड गोल्डकपको खेल तालिका सार्वजनिक

धनगढी :  देशकै सर्वाधिक धनराशीको तेस्रो नेपाल आईस अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ ।

काठमाण्डौंमा जारी सहिद स्मारक ए डिभिजन लिगको अन्तिम चरणको खेलत तालिका आएपछि आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबले आज गोल्डकपको खेल तालिका सार्वजनिक भएको हो ।

पुस २४ गतेदेखि माघ ५ गतेसम्म आयोजना हुने प्रतियोगिताको सार्वजनिक गरिएको खेल तालिका अनुसार सहभागी १२ टीमहरुलाई दुई समुहमा विभाजन गरिएको छ ।

आयोजक सुदुरपश्चिम– ११ स्पोर्टस क्लब सहित सहित मेची नेत्रालय काकँरभित्ता झापा, नेपाल एपिएफ, भ्याली च्यासल युवा क्लब, रुस्लान थ्री स्टार र दिल्ली एफसी रहेका छन् ।

यो समुहबाट नेपाल एपिएफ र रुस्लान थ्रीस्टार पहिलो चरणमा वाई पाएर सिधैं क्वाटरफाईनलका खेल खेल्नेछन् । उद्घाटन खेलमा आयोजक सुदुरपश्चिम– ११ स्पोर्टस क्लब र मेची नेत्रालय काकँरभित्ता झापा बीच उद्घाटन खेल हुने छ । यो खेलको विजेताले क्वाटरफाईनलमा नेपाल एपिएफएसँग प्रतिस्पर्धा गर्नेछ । भ्याली च्यासल युवा क्लब र दिल्ली एफसीबीच हुने खेलको विजेता टोलीले क्वाटरफाईनलमा रुस्लान थ्रीस्टारसँग खेल्नेछ । 

अर्को समुहमा सिग्नेचर मनाङ मस्याङ्दी, सिएमजी संकटा, नेपाल पुलिस, गोर्खा ब्वाईज स्पोर्टस रुपन्देही, मोरङ ११ स्पोर्टस क्लब र क्यामरुनको धाउफिन्स टीम फ्यामिली क्लब रहेका छन् ।

यो समुहबाट पनि सिग्नेचर मनाङ मस्याङ्दी र क्यामरुनको धाउफिन्स टीम फ्यामिली क्लब पनि पहिलो चरणमा वाई पाएर सिंधै क्वाटरफाईनलमा पुगेका छन् । मनाङले नेपाल पुलिस र मोरङ ११ स्पोर्टस क्लबको विजेतासँग सेमिफाईनल प्रवेशका लागि खेल्ने छ ।

क्यामरुनको धाउफिन्स टीम फ्यामिली क्लबले सेमिफाईनल जानका लागि सिएमजी संकटा र गोर्खा ब्वाईज स्पोर्टस रुपन्देही बीचको विजेतासँग खेल्नेछ । 

मंगलवारदेखि आयोजना हुने प्रतियोगिता आउन चार दिन वाँकी रहँदा तयारी अन्तिम चरणमा पुगेको छ । विभिन्न उप समितीहरु गठन गर्दै पुसको सुरुवातदेखि तिव्र रुपमा तयारी थालिएपछि तयारी अन्तिम चरणमा पुगेको आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले बताए ।

प्रतियोगिताका लागि मैदान मर्मतको काम गर्न मात्रै बाँकी रहेको छ । प्रतियोगिता अवलोकनका लागि टिकट दर समेत तोकिएको छ  । क्वाटरफाईनलसम्मको लागि एक सय र एक सय ५० तथा सेमिफाईनल र फाईनलका लागि एक सय ५० र दुई सय रुपैया तोकिएको छ । 

तेस्रो संस्करणको नेपाल आईस अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको विजेताले नगद २१ लाख र उपविजेताले नगद १० लाख हात पार्नेछ । उत्कृष्ट खेलाडीले मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट विधाका खेलाडीले जनही १५÷१५ हजार पाउने आयोजकले जनाएको छ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ । प्रतियोगिता धनगढीमा पुस २४ गतेदेखि सुरु भएर माघ ५ गतेसम्म सञ्चालन हुनेछ ।