संसद विघटन रहर होइन, मेरो वाध्यता हो : प्रधानमन्‍त्री

संसद विघटन रहर होइन, मेरो वाध्यता हो : प्रधानमन्‍त्री

काठमाडौं : प्रधानमन्‍त्री केपी ओलीले प्रतिनिधिसभाको विघटन आफ्नो रहर नभएर वाध्यता भएको बताएका छन्। सिंहदरबारमा आफू निकट सांसदहरूसँग छलफलमा प्रधानमन्‍त्री तथा नेकपा अध्यक्ष ओलीले पार्टीभित्रैबाट घेराबन्दी र बाहिरबाट अहसयोग भएपछि आफू वाध्य भएर जनता जाने कदम चालेको बताएका छन्। उनले भने, यो मेरो रहर होइन, वाध्यता हो।

ओलीले संसद् विघटन भएर चुनाव घोषणा भइसकेकोले यसमा अब विवाद गर्नुभन्दा सबै दल चुनावमा जुट्नु उपयुक्त हुने बताए। बहुमत प्राप्त प्रधानमन्‍त्रीले गरेको राजनीतिक निर्णय भएकोले यसलाई चुनौती दिने हक कसैलाई नभएको उनले बताए। उनले मन्‍त्रिपरिषद्को निर्णयका आधारमा प्रधानमन्‍त्रीको सिफारिस र राष्ट्रपतिको अनुमोदनमा चालिएको राजनीतिक कदममा अदालतले पनि केही गर्न नमिल्‍ने बताए। 

ओलीले जनताले दिएको विश्वास पूरा गर्न अवरोध गरेपछि जनतासमक्ष नै प्रस्तुत गर्न ताजा जनादेशको निर्णयमा पुग्नु परेको बताएका छन्। विघटित प्रतिनिधिसभाका सदस्यहरुको सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको मतबाट निर्णय लिने कदमलाई निरंकुश भनी कृत्रिम न्यारेटिभ खडा गर्ने प्रयास भएको धारणा राखे।

‘अप्ठेरोमा जनतासमक्ष जानुलाई निरंकुश कदम भन्ने न्यारेटिभ चलाइएको छ, त्यो गलत छ’ प्रधानमन्त्री ओलीले भने, ‘जनताले जुन आदेश दिएर पठाएका थिए, त्यसलाई पूरा गर्न अवरोध खडा गरेपछि जनतामा जानु उच्च लोकतान्त्रिक कदम हो।’ 

मुलुकको उन्नतिका लागि गरेका हरेक काममा अवरोधका कारण पार्टीको भविष्य जोगाउने अरु कुनै विकल्प नभएपछि भारी मनका साथ आफूले ताजा जनादेश लिने निर्णय गरेको उनले सुनाए।पार्टीका एकथरी नेताले पार्टीलाई जनताले सुम्पेको 

जनादेश बिर्सेर सधैं सरकारका काममा अवरोध मात्रै गरेको जानकारी गराए। उनले विचार, संगठन र गन्तव्यमा स्पष्ट विशाल पार्टी बनाउने उद्देश्य सफल पार्न आफू सक्रिय रहेको तर अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल लगायतका नेताहरु सरकारका मुलुकको काममा अवरोध गरी विग्रहतिरको बाटोमा अग्रसर भएको बताए। 

‘हामी एकता एकीकरणका काम टुङ्ग्याएर सहमतिका साथ एकताको महाधिवेशन गर्ने, विचार, संगठन र गन्तब्यमा स्पष्ट पार्टी बनाउन सक्रिय थियौं। तर, उहाँहरु एकतामा भावनात्मक सम्मानका लागि गरिएको व्यवस्थालाई दुरुपयोग गरेर पछाडी फर्कनै नसक्नेगरी समीकरणका आधारमा पार्टीलाई चिरा पार्ने र विग्रह, बेमेलको वातावरण निर्माण गर्न अग्रसर हुनु भयो’ प्रधानमन्त्री ओलीले भने, ‘संसद् विघटन मेरो निजी रोजाई होइन, पार्टीको आन्दोलन र भविष्य जोगाउन अरु कुनै विकल्प नभएपछि भारी मनका साथ ताजा जनादेशका लागि जनतामा जाने निर्णय गर्नु पर्‍यो।’