नेकपाको अलग अलग भेला, एक-अर्कालाई कारबाही गर्ने तयारी

नेकपाको अलग अलग भेला, एक-अर्कालाई कारबाही गर्ने तयारी

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ । पार्टी विभाजनको चौबाटोमा पुगेको नेकपामा समूहगत रूपमा बेग्लाबेग्लै भेला र बैठक भइरहेका छन् । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकअर्कामाथि कारबाही प्रक्रिया अगाडि बढाउने तयारीमा छन् ।

साढे दुई वर्षअघि २०७५ साल जेठ ३ गते पार्टी एकताको ऐतिहासिक घोषणा गरेका दुई पार्टी एकताको अढाई वर्षपछि विभाजनको सङ्घारमा पुगेका हुन् । यद्यपि, कारबाहीको घोषणा पहिला कसले गर्ने भन्ने मात्र बाँकी छ । दुवै पक्षले मङ्गलबार केन्द्रीय कमिटीको बैठक डाकेका छन् ।

अध्यक्ष दाहाललाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्दै विघटित प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव दर्ता गर्न पुगेका दाहाल–नेपाल समूहका नेताहरू यतिबेला प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने तयारीमा छन् । प्रचण्ड–माधव नेपाल पक्षीय स्थायी कमिटीको बैठकले पार्टी अध्यक्ष ओलीमाथि अनुशासनको कारबाही अगाडि बढाएको पत्र निर्वाचन आयोगमा सोमबार पेस गरेका छन् । सो घटनापछि प्रधानमन्त्री एवं अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठक मङ्गलबार बिहान ९ बजे बोलाएका छन् । गोरखापत्र दैनिकमा समाचार छ ।