बैतडीमा लागू भयो मकै जोन कार्यक्रम

बैतडीमा लागू भयो मकै जोन कार्यक्रम

बैतडी : प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना अन्तर्गत परियोजना कार्यान्वयन इकाइ मकै जोन बैतडीले जिल्लामा संचालनमा गर्ने मकै जोन कार्यक्रममा सूचीकृत हुनको लागि कृषक समूहहरूलाई आग्रह गरेको छ।

मकै जोन कार्यालयले एक सूचना जारी गर्दै यो कार्यक्रम लागु भएका दोगडाकेदार, सुर्नया, पञ्चेश्रर गाउँपालिका दथरथचन्द र पाटन नगरपालिकाका कृषक समूहरूलाई यही पुस २४ गतेभित्र आवश्यक कागजातसहित कार्यालयमा निवेदन दिनु हुन आग्रह गरेको छ।

मकैजोन कार्यालयले मकै खेती ५०० हेक्टर बढी ठाउँमा एउटै क्षेत्रमा भइरहेको ठाउँलाई क्षेत्र निर्धारण गरिएको हो। निवेदन दिने कृषकले परियोजनाले तयार गरेको परियोजनाको फर्मेट अनुसारको विवरण, समूह सहकारी तथा कृषि फर्म दर्ताको प्रमाण पत्र नविकरण र सहकारीको लेखापरीक्षण प्रतिवेदन पनि पेश गर्नुपर्ने परियोजना कार्यान्वयन इकाइ मकै जोन बैतडीका निमित्त प्रमुख महेशप्रसाद अवस्थीले बताए। 

यस्तै समूह सहकारी तथा फर्मको बैठकको निर्णयको प्रतिलिपी र आवेदन फारममा १० को टिकट पनि लगाउनु पर्नेछ। समूहको हितकोष रकम, सहकारी तथा फर्मको बचत रकम तथा आयव्यय विवरण सँगै मकै खेतीले ढाकेको क्षेत्रफल र घरधुरीको विवरण पनि कार्यालयमा पेश गर्नुपर्नेछ।

समूह सहकारीमा आवद्ध महिला, पुरुष, दलित तथा जनजातिको विवरण पनि कृषक समूहहरूले मकै जोन कार्यालयमा बुझाउनु पर्ने मकै जोन कार्यालय बैतडीले जनाएको छ।   मकै खेतीको विस्तार, आधुनिकीकरण र औद्योगिकरणका लागि बैतडीमा गत असोजमा पहिलो पटक मकै जोन कार्यालय स्थापना गरिएका थियो।

नेपाल सरकार मन्त्रीस्तरको निर्णय अनुसार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत रहने गरी कार्यालय स्थापना भएको हो। मकै खेतीको विस्तार, आधुनिकीकरण र औद्योगिकरणका लागि कार्यालय स्थापना  गरिएको जनाएको छ।