डिपार्टमेन्टल स्टोर र रेष्टुरेन्टमा आगलागी

डिपार्टमेन्टल स्टोर र रेष्टुरेन्टमा आगलागी

जनकपुर। जनकपुरधामस्थित एक डिपार्टमेन्टल स्टोर र एउटा रेष्टुरेन्टमा लागेको भीषण अगलागीबाट करिब अढाइ करोड क्षति भएको छ।

जनकपुरधामस्थित शिवचोकमा रहेको मिथिला डिपार्टमेन्टल स्टोर र रुफटप रेष्टुरेन्टमा बिहीबार भीषण आगलागी तीन घण्टापछि बल्ल नियन्त्रणमा आएको थियो।

धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार विद्युत्को तार सर्ट लागेको आगलागीबाट झण्डै दुई करोड ५० लाखको क्षति भएको हो।

जनकपुरधाम उप-महानगरपालिका कर्यालयबाट १०० दूरीमा आगलागी भए पनि उप-महानगरले वारुणयन्त्र नपठाउँदा आगो थप बल्झिएको व्यापारीहरूले आरोप लगाएका छन्।

धनुषा तथा महोत्तरीबाट आएका ६ वटा वारुणयन्त्र, प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक बस्नेतले बताए। 

धनुषाको धनुषाधाम नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, जनकपुर विमानस्थल र महोत्तरीको जलेश्वर नगरपालिकाको वारुणयन्त्रबाट आगलागी नियन्त्रणमा आएको हो। जनकपुरधाम उप-महानगरपालिकामा दुईवटा वारुणयन्त्र रहे पनि महिनौँदेखि दुवै बिग्रिएर थन्किएका छन्।