नेकपाका महिला नेतृ को कता ?

नेकपाका महिला नेतृ को कता ?

पूर्वएमालेको अनेमसंघको पछिल्लो नेतृत्वमा रहेकाहरू प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली नेतृत्वतिर छन् भने पूर्वमाओवादी निकट महिला संगठन अनेमसंघ (क्रान्तिकारी)को नेतृत्वमा रहेका महिलाहरू दाहाल–नेपाल समूहतिरै देखिएका छन्। 

ओली समूह

अनेमसंघ हुँदा अध्यक्ष रहेकी गोमा देवकोटा, उपाध्यक्ष सीता पौडेल, महासचिव सुजिता शाक्य, थममाया थापाका साथै अनेमसंघको केन्द्रीय नेतृत्वमा रहँदै आएका राधा ज्ञवाली, जया घिमिरे, तुलसा दाहाल, सरस्वती बस्नेत, आशा विकलगायत रहेका छन्। त्यस्तै पार्टीको केन्द्रमा रहेका विन्दा पाण्डे, पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे, विघटित प्रतिनिधि सभामा सचेतक रहेकी शान्ता चौधरी, निरुदेवी पाल, विना श्रेष्ठ, आशा विक, जुलीकुमारी महतोलगायत पनि ओली समूहमा छन्। 

अनेमसंघको नेतृत्वमा रहेकी तुलसा थापामगर अहिलेसम्म कुनै समूहमा देखिएकी छैनन्। उनी नेकपा उपाध्यक्ष रहेका वामदेव गौतमकी पत्नी हुन्। गौतम कुनै समूहमा अहिलेसम्म नगएकाले उनी पनि कतै नखुलेको हुनसक्ने उनीनिकट नेताहरूले बताए।

अनेमसंघको संस्थापक मध्येकी एक शान्ता मानवी भने अहिले राजनीतिक जीवनबाट सन्यास लिएर फुर्सदमा बसेको बताउँछिन्। अनेमसंघको कार्यालय सचिव रहेकी तुलसा दाहालले पूर्वअनेमसंघ क्रान्तिकारीकी अस्मिता रानामगर, प्रदेश सभा सदस्य ज्वाला शाहलगायत प्रदेशस्तरका नेताहरू ओली समूहमा आएको बताइन्। 

उनले भनिन्, “हाम्रो (पूर्वएमालेको अनेमसंघ) र पूर्वमाओवादीको अनेमसंघ क्रान्तिकारी केन्द्रीय नेतृत्व एकैतिर भएको देखिन्छ।  प्रदेश र जिल्ला नेताहरू को कता भन्ने सबै थाहा हुन बाँकी छ, तर हामीतिरको साथीहरू एक/दुई जनाबाहेक सबै एकैतिर छौं।”

दाहाल–नेपाल समूह

नेकपा स्थायी कमिटीमा रहेका दुई जना अष्टलक्ष्मी शाक्य र पुम्फा भुसाल यही समूहमा छन्। शाक्य यसअघि एमाले हुँदा पार्टी उपाध्यक्ष थिइन्। पूर्वमाओवादी पार्टीको नेतृत्व तथा माओवादीको महिला संगठन अनेमसंघ (क्रान्तिकारी) को नेतृत्वमा रहेका महिलाहरू दाहालतिरै छन्। 

एमाले हुँदादेखि नै वरिष्ठ नेता माधवकुमार नेपालनिकट देखिएका श्रीमाया थकाली, उषाकला राई, मुनु सिग्देल (मकवानपुर नेकपाको अध्यक्ष) रामकुमारी झाँक्रीलगायत महिलाहरू अहिले दाहाल–नेपाल समूहमा छन्। 

पूर्वमाओवादी नेतृ यशोदा सुवेदी (गुरुङ) ले भनिन्, “जनयुद्ध लडेका पुराना महिलाहरू हामी एकै ठाउँमा छौं, पूर्वएमालेमा रहेका वरिष्ठ महिलाहरू पनि आएकाले सिनियर महिलाहरूको ठूलो संख्या हामी सँगै भएका छौं।” 

त्यसका साथै शशी श्रेष्ठ, पूर्वसभामुख ओनसरी घर्तीका साथै पूर्वउपसभामुख पूर्णकुमारी सुवेदी, जयपुरी घर्ती, अमृता थापामगर, यशोदा सुवेदी, अन्जना विसुंखे, दामाकुमारी शर्मा, तारा घर्ती, विमला केसीलगायत रहेका छन्।

पूर्वमाओवादीतिरका गृहमन्त्री रामबहादुर थापा अहिले ओली समूहमा छन्। उनकी श्रीमती नैनकला गुरुङ पञ्चायतकालदेखि राजनीति गरेको भए पनि अहिले राजनीतिमा सक्रिय नभएको पूर्वमाओवादीका महिला नेताहरूले बताएका छन्। 

नेकपा माओवादी सरकारमा भएका बेला राष्ट्रिय महिला आयोगको अध्यक्ष समेत भएकी उनी त्यसपछि पनि सक्रिय राजनीतिमा खासै देखिएकी छैनन्-हिमालखबरमा खबर छ ।