प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लब विजेता

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लब विजेता

दाङ । लमहीमा भइरहेको प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लब समूह ‘ए’ को विजेता बनेको छ । समूहको अन्तिम तथा निर्णायक खेलमा सोमबार लुम्बिनीलाई ६१ रनले पराजित गरेसँगै एपीएफ समूह विजेता बनेको हो । लुम्बिनी पनि उपविजेता बन्दै सेमिफाइनल पुग्यो । अब एपीएफले सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता र लुम्बिनीले समूह ‘बी’ को विजेतासँग खेल्नेछन् ।

सोमबार एपीएफले छाडेको १ सय २३ रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभर खेल्दै ६१ रनमा समेटियो । लुम्बिनीबाट लक्ष्मी चौधरीले सर्वाधिक ११ रन र सरस्वती पुनले अविजित १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपीएफका .करुणा भण्डारीले ३, सोनु खड्का र रेखा रावलले १–१ विकेट हात पारे । टस जितेर पहिले ब्याटिङ रोजेको एपीएफले २० ओभरमा ४ विकेट गुमाई १ सय २२ रन बनाएको थियो । एपीएफले मध्यम योगफल बनाउने क्रममा ओपनरद्वय ज्योति पाण्डे र राजमती ऐरीले ठोस सुरुआत दिलाए । यी दुईबीच ४४ रनको साझेदारी भएको थियो ।