यमनमा विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु

यमनमा विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु

यमनको दक्षिणी भागमा रहेको एडन सहरस्थित विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। ५० भन्दा बढी घाइते भएको बताइएको छ।

युद्धका कारण विभाजित यमनको हालसालै गठन भएको सरकारका सदस्यहरू सवार विमान छिमेकी साउदी अरेबियाबाट आएर अवतरण गरेको केहीबेरमै कम्तीमा एउटा विस्फोट भएको विवरण प्राप्त भएको छ।

घटनामा हताहत हुनेमा सहायतामा जुटेकाहरूका साथै अधिकारीहरू रहेको बताइएको छ। तर त्यहाँका प्रधानमन्त्रीले आफू र मन्त्रिपरिषद् सदस्यहरू "सकुशल"रहेको बताएका छन्। सूचना मन्त्रीले हुथी विद्रोहीहरूले "कायरतापूर्ण आतङ्कवादी कार्य" गरेको आरोप लगाएका छन्।

सन् २०१५ देखि यमन द्वन्द्वको चपेटामा परेको छ। साउदी अरेबियाले नेतृत्व गरेको अरब राष्ट्रहरूको समूहले हुथी विद्रोहीहरूलाई परास्त गर्न र राष्ट्रपति अब्दराबा मन्सुर हादीको शासन पुन: स्थापित गर्नका लागि सैन्य कारबाही सुरु गरेसँगै यमनमा समस्या देखा परेको हो। -बीबीसी