डडेल्धुरा अस्पतालमा शुक्रबारदेखि आईसीयू सेवा सञ्चालनमा

डडेल्धुरा अस्पतालमा शुक्रबारदेखि आईसीयू सेवा सञ्चालनमा

डडेल्धुरा । सुदूरपश्चिम  प्रदेशमा संघीय सरकार मातहतको एकमात्र अस्पताल डडेल्धुरा अस्पतालमा शुक्रबारदेखि सघन उपचार कक्ष (आईसीयू) सेवा सञ्चालनमा आएको छ ।

१५ बेडको आईसीयू कक्ष सञ्चालन गर्ने भनिए पनि विविध कारणले पाँच बेडको आईसीयू सेवा सञ्चालन गरेको अस्पतालले जनाएको छ । थप ६ बेडको आईसीयू सेवा केही दिनमै सञ्चालन गरिने र बाँकी चार बेडलाई भने केही समयपछि सञ्चालन गर्ने योजना रहेको डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताए ।

सुदूरपश्चिम प्रदेशका अस्पतालमा आईसीयू र भेन्टिलेटर सेवाको अभाव जारी रहेकाले जाडोसँगै कोभिड–१९ का बिरामी बढेमा उपचारमा कठिनाइ हुने अवस्था आउने देखिएको छ । स्रोत साधान अभावका कारण डडेल्धुरा र सेती प्रादेशिकलगायतका अन्य अस्पतालहरुमा अझै आईसीयू र भेन्टिलेटर सेवा सञ्चालनमा कठिनाइ भइरहेको पाइएको छ ।

अस्पतालमा आउने बिरामीको चापको अनुपातमा डडेल्धुरा, सेती, महाकाली र टीकापुर अस्पतालमा उपकरण र दक्ष जनशक्तिको पनि अभाव छ । जिल्ला अस्पतालहरुमा त झन् जनशक्तिसँगै अक्सिजन प्लान्टको समेत अभाव भइरहेको पाइएको छ ।

सुदूरपश्चिम प्रदेशमा झन्डै एक दर्जन सरकारी अस्पताल रहे पनि धनगढीबाहिरका अस्पतालमा स्रोत र साधनको अभाव कायमै रहेको हो । धनगढीबाहिर सिकिस्त बिरामीको उपचारमा प्रयोग हुने उपकरणहरु र जनशक्तिको खाँचो टड्कारो छ ।

प्रदेश सरकारले २० वटा भेन्टिलेटर विभिन्न १० वटा अस्पताललाई दुई थानका दरले वितरण गरेको भए पनि ती सञ्चालनमा ल्याउन दक्ष जनशक्तिको व्यवस्थापन गर्न नसकिँदा अस्पतालमा थन्क्याउनुपर्ने अवस्था आएको बताइएको छ । नेपाल समाचार पत्र दैनिकबाट