आजदेखि राष्ट्रियसभाको हिउँदे अधिवेशन

आजदेखि राष्ट्रियसभाको हिउँदे अधिवेशन

काठमाडौँ : राष्ट्रियसभाको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । राष्ट्रिय सभाको यो अधिवेशनमा प्रतिनिधिसभा विघटन भएको घटनादेखि समसामयिक राजनीति र जनसरोकारका जल्दाबल्दा विषय प्रखररुपमा उठेनेछन् । 

जनता समाजवादी पार्टी (जसपा) बाट उक्त सभामा प्रतिनिधित्व गर्नुहुने प्रमिला कुमारीले  प्रतिनिधिसभा विघटन, उखु किसानका समस्या र नागरिकतालगायत जनसरोकारका मुद्दालाई यो अधिवेशनमा प्राथमिकताका साथ उठाउने बताएकी छन् । 

राष्ट्रियसभामा नेकपाका नेता दिनानाथ शर्माले सरकारको काम कारवाहीलाई सहयोग पुर्या‍उने तथा जनताका समसामयिक आवाजलाई बुलन्द गर्ने विगतको अभ्यासकै रुपमा सदन अघि बढने बताएका छन्। 

शर्माले राष्ट्रियसभामा उत्पति भएर विभिन्न चरणमा रहेका १८ विधेयक र केही संवैधानिक आयोगका प्रतिवेदन तथा समितिका वार्षिक प्रतिवेदन हाम्रो एजेण्डाभित्र भएकाले स्वभाविकरुपमा सदनमा पेश हुने बताए ।

राष्ट्रियसभामा अध्यक्ष र उपाध्यक्षबाहेक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ४४, नेपाली कांग्रेसका सात र जनता समाजवादी दलका तीन सदस्य छन् । त्यसैगरी राष्ट्रपतिबाट मनोनीत तीन विषयविज्ञ सदस्य रहेका छन् । 

प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गरेको अवस्थामा चल्न लागेको राष्ट्रियसभाले सदनमा उठेका जनताका आवाज सम्बोधनका लागि सरकारलाई निर्देशन दिन, ध्यानाकर्षण गराउन र  रुलिङ गर्न सक्नेछ ।  

दिउँसो ४ बजे सुरु हुने बैठकको सुरुमा अध्यक्षले राष्ट्रपतिबाट अधिवेशन आह्वान गरेको पत्र र राष्ट्रपति कार्यालयबाटै प्राप्त मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी पत्र पढेर सुनाउने छन् । त्यसपछि बैठकमा राष्ट्रियसभाका समिति गठन सम्बन्धी अध्यादेश, अधिवेशन प्रारम्भका अवसरमा मन्तव्यसँगै केही अध्यादेश प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ ।