भूमिहीन सुकम्वासी लगत सङ्कलन एकाइ कार्यालय स्थापना

भूमिहीन सुकम्वासी लगत सङ्कलन एकाइ कार्यालय स्थापना

धनगढी । धनगढी उपमहानगरपालिका क्षेत्रमा रहेका भूमिहीन, सुकुम्वासी, अव्यस्थित बसोवास गर्नेहरुको पहिचान गरी लगत सङ्कलनको काम सुरु भएको छ।

धनगढी उपमहानगरपालिकाले आज एकाइ कार्यालय स्थापना गरी काम अघि बढाएको हो।  एकाइ कार्यालयको उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र उपप्रमुख सुशीला मिश्र भट्टले संयुक्त रुपमा शुभारम्भ गरे। सो अवसरमा नगरप्रमुख वडले जग्गा हस्तान्तरणको प्रक्रिया थाल्नका लागि भूमिहीन सुकम्वासी र अव्यस्थित बसोवासीको पहिचान, लगत सङ्कलन र प्रमाणीकरणको काम एकाइ कार्यालयबाट सञ्चालन हुने बताए। 

भूमिसम्बन्धी समस्या समाधान आयोगले भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीको समस्या समाधानमा धनगढी उपमहानगरपालिकासँग गरेको सम्झौता बमोजिम काम अगाडि बढाइको हो। आयोगले भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि विभिन्न जिल्लाका पालिकासँग पनि सम्झौता गरिरहेको छ।   

 स्थानीय पालिकाका प्रमुखको संयोजकत्वमा एक सहजीकरण समिति गठनको व्यवस्था गरिएको छ। धनगढीसहित कैलालीमा भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या ठूलो छ। ऐलानी जग्गामा बसेको दशकौँ भए पनि उनीहरुको नाममा जग्गा दर्ता हुन सकेको छैन। 

यस्तो जग्गामा बसोबास गर्ने परिवारलाई बिजुली, पानी, सडकलगायत सेवा सुविधा भने सरकारी निकायबाट उपलब्ध भइरहेको छ। जिल्लामा पर्ने पूर्व–पश्चिम राजमार्ग सडकखण्ड छेउछाउको अधिकांश ठाउँको ऐलानी जग्गामा वर्षौंअघि स्थापना भएका बजार क्षेत्र विस्तार हुँदै गएका छन्।