प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दाहरुको आज पनि सुनुवाइ हुँदै

प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दाहरुको आज पनि सुनुवाइ हुँदै

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दाहरुको आज पनि सुनुवाई हुँदैछ । आइतबार बहस नसकिएकापछि हे संसद् विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

प्रधानन्यायाधीश जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सहभागी संवैधानिक इजलासमा सुरु भएको प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइ आज हुनेछ । 

आइतबारको सुनुवाइमा सहभागी भएका संविधानविद् डा। भीमार्जुन आचार्य र वरिष्ठ अधिवक्ता सुनीलकुमार पोख्रेलले बहुमत प्राप्त प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटनको अधिकार नरहेको जिकीर गरेका थिए । प्रतिनिधिसभाले प्रधानमन्त्री दिनसक्ने अवस्था रहेसम्म विघटन गर्न नपाउने भन्दै उनीहरुले संसद विघटन असंवैधानिक भएको जिकीर गरेका हुन् । 

यस्तै बहसमा सहभागी भएका रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संसद विघटनसम्बन्धी संविधान सभामा भएको छलफलको रेकर्ड मगाउन माग गरेका छन्।

उनलेले प्रतिनिधि सभा विघटनसम्बन्धी प्रावधान राख्दा संविधान सभामा सहमति हुँदा भएको छलफलको रेकर्ड मगाउन माग गरेपछि जवाफ दिँदै प्रधानन्यायाधीश जबराले भने, ‘आवश्यक परे रेकर्ड मगाउँछौं।’

गत शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ हुने निर्णय भएसँगै आइतबारबाट प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दाको सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो ।  गत पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै आउँदो वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति घोषणा गरेकी छन् ।