सुवास नेम्वाङले संसद विघटनबारे बोलेको भिडियोले इजलासमा प्रवेश पायो

सुवास नेम्वाङले संसद विघटनबारे बोलेको भिडियोले इजलासमा प्रवेश पायो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपनेता सुवासचन्द्र नेम्वाङले संसद विटन सम्बन्धी विषयमा दिएको अभिव्यक्तिले संवैधानिक इजलासमा प्रवेश पाएको छ ।

करिब एक वर्ष अगाडि तत्कालिन संबिधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको बताएका थिए । उनको उक्त भिडियो अहिले चर्चामा आएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन बमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले नेता नेम्वाङले बोलेको भिडियोबारे छलफल हुनुपर्ने बताए । उनले त्यसलाई संसद विघटनको पक्षमा प्रमाणको रुपमा रहेको बताए ।

‘मौकामा बोलेको त प्रमाण लाग्छ नि श्रीमान्’, उनले भने, ‘यो कुरा सुवास नेम्वाङले भनेको होइन । संविधान सभाको चेयर पर्सनले भनेको हो ।’

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले मन्त्रिपरिषद्मार्फत राष्ट्रपति समक्ष गत पुस ५ गते संसद विघटनको प्रस्ताव लगेका थिए सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनसँग वैशाख १७ र २७ गते आम निर्वाचनको घोषणा गरेकी थिइन् ।

उनले भिडियोमा ‘प्रधानमन्त्रीलाई रिस उठ्दैमा संसद विघटन हुँदैन, ठ्याक्कै चुनाव ५ वर्षमा नै हुन्छ’ भन्दै अभिव्यक्ति दिएका थिए ।