पर्यटनलाई चलायमान बनाउन माग

पर्यटनलाई चलायमान बनाउन माग

काठमाडौं । कोभिड–१९ का कारण पर्यटन क्षेत्र तहसनहस भएको भन्दै पर्यटन तथा होटेल व्यवसायीले यो क्षेत्रलाई चलायमान बनाउन सरकारसँग माग गरेका छन् ।

अर्थ मन्त्रालयमा अर्थमन्त्री विष्णु पौडल, अर्थसचिव शिशिर ढुंगाना, पर्यटनमन्त्री भानुभक्त ढकालको सहभागितामा मंगलवार भएको छलफलमा व्यवसायीहरूले यो क्षेत्रलाई चलायमान बनाउन सरकारसँग आग्रह गरे ।

सरकारले ल्याएको कोभिड विशेष प्याकेज प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै उनीहरूले तत्कालै कार्यान्वयनमा लैजान आग्रहसमेत गरे । होटल एशोसिएशन अफ नेपालका अध्यक्ष सृजना राणाले अति प्रभावितका लागि ल्याएको सरकारी प्याकेज सही रूपमा तत्काल कार्यान्वयन गर्न माग गरिन् ।

उनले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधिमा शोधभर्ना रकमको अवधि बढीमा २ वर्षको हुने उल्लेख भएकोमा ३ वर्ष, चुक्ता गर्ने अवधि अधिकतम ४ वर्ष उल्लेख भएकोमा ५ वर्षको व्यवस्था गर्न, विद्युत् डिमान्ड शुल्क छूटको व्यवस्था गर्नसमेत आग्रह गरिन् ।

त्यस क्रममा व्यवसायीहरूले धितोको मूल्यमा शतप्रतिशतसम्म हुने गरी ऋण प्रवाह गर्ने व्यवस्था सरकारले मिलाउनुपर्ने माग राखे । यस्तै, पुनर्कर्जामा प्रतिग्राहक कर्जा सीमा २० करोड रुपैयाँ रहेको छ । यो रकमभन्दा माथिको आवश्यकता देखिएमा सीमालाई बाध्यकारी नबनाउने व्यवस्था गर्नसमेत व्यवसायीहरूले माग गरेका छन् ।

सरकारले पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न भन्दै आर्थिक प्याकेजदेखि बिदासम्मको व्यवस्था गर्ने बताउँदै आए पनि त्यो योजना कार्यान्वयनमा आउन नसकेका पर्यटन तथा होटेल व्यवसायीहरूले बताएका थिए । सो क्रममा अर्थमन्त्री पौडेलले पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।