बसाइँ सरेको २२ वर्षपछि गाउँ फर्केर ड्रागन खेती

बसाइँ सरेको २२ वर्षपछि गाउँ फर्केर ड्रागन खेती

धेरै मानिसहरु सेवा सुविधाको खोजीमा शहरतिर बसाइँ सर्छन् । यसरी हिडेका मानिसहरु पुनः आफ्नै जन्मथलोमा फर्किएका कमै उदाहरण भेटिन्छन् । तर, भोजपुरको टेम्केमैयुङ गाउँपालिका – ८ गोगने सल्लेनीका कृषक शम्भु नेपाल भने २२ वर्ष विराटनगरमा बिताएर गाउँमा फर्केर व्यवसायीक खेतीमा लागेका छन् । व्यवसाय गर्नको लागि विराटनगरमा रहेको घर बिक्री गरेर गाउँ आएको उनको भनाइ छ ।

कृषक नेपालले अहिले आफ्नो पुर्खौली भुमिमा २२ रोपनी क्षेत्रफलमा डा«गन फल र १८ रोपनी क्षेत्रफलमा कागतीको व्यवसायीक खेती गरिरहेका छन् । नेपालले एक हजार बोट कुरिलो, एभोकाडो लगायतका विरुवा समेत लगाएका छन् ।उनले दानाबोटे फलफूल तथा कृषि फर्ममा अहिले एक हजार ५०० बढी पिलरमा ड्रागन फल लगाएका छन् भने दुई हजार ५०० पिलर पु-याउने लक्ष्यका साथ खेतीलाई थप विस्तार गरिरहेको नेपालले बताए । नेपालले ३ वर्ष अघिबाट भोजपुरमा पहिलो पटक ड्रागन फलको व्यवसायीक खेती गर्न थालेको बताए । अहिले उनको फर्ममा रहेको ड्रागनले फल दिन शुरु गरेको छ ।

कृषक नेपालले भने,‘म २२ वर्षपछि पुन: गाउँ फर्केर व्यवसायीक कृषिमा लागेको छु, अहिले मैले ४० रोपनी बढी क्षेत्रफलमा ड्रागन फलसंगै कागतीको व्यवसायीक खेती गरिरहेको छु, शुरुमा गाउँमा फर्केर आएर व्यवसायीक रुपमा खेती गर्दा यहाँका साथीहरुले धेरै थरीका कुरा गरे, वौलायो भने पैसा धेर भएर यस्तो गर्दैछ भने तर अहिले मैले ड्रागनको खेती गरेको देखेर अन्य साथीहरुले पनि खेती गर्दै आएका छन् ।’

नेपालले ड्रागन फलको खेतीका लागि मात्र हालसम्म १५ लाख बढी खर्च गरिसकेको बताए । गतवर्षबाट सामान्य रुपमा त्यसले फलदिन थालेको उनले बताए । उनले ड्रागन खेतीबाट बार्षीक ५० लाख आम्दानी लिने लक्ष्य राखेका छन् । उनले भारतबाट यसको विरुवा ल्याएर खेती थालेको जानकारी दिए ।