पद नपाएका कारण प्रचण्ड र नेपालले पार्टी छाडेर गए : टोपबहादुर

पद नपाएका कारण प्रचण्ड र नेपालले पार्टी छाडेर गए : टोपबहादुर

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता टोपबहादुर रायमाझीले आगामी वैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिएका छन् । 

नेकपा दोलखा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज आयोजित ‘बृहत कार्यकर्ता भेला’ लाई सम्बोधन गर्दै उनले नेकपा दाहाल–नेपाल समूहका नेता तथा कार्यकर्ताले भ्रम सिर्जना गरिरहेकाले कत्ति पनि भ्रममा नपरी चुनावमा लाग्न निर्देशन दिएका हुन् ।

मन्त्री रायमाझीले कुनै विचारभन्दा पनि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पद नपाएका कारण पार्टी छाडेर गएको आरोप लगाए । उनले भने, “निर्वाचन आयोगले पार्टी फुटेको छैन भनेको छ, कि त पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानेर जानुप¥यो कि पार्टी फुटाएर जानुप¥यो ।” 

सञ्चार, सूचना तथा प्रविधिमन्त्री एवं नेकपाका नेता पार्वत गुरुङले दाहाल–नेपाल नेतृत्वको नेकपाका नेताहरुले पदकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको सन्दर्भमा प्रधानमन्त्रीले बाध्य भएर संसद् विघटन गरेको प्रस्ट पारे । मञ्चका अध्यक्ष गणेश शिवाकोटीले समृद्ध नेपाल निर्माणका लागि स्थिरता, विकास र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न एकजुट हुनुपर्नेमा जोड दिए ।