नेकपा प्रचण्ड-माधव पक्षको आम हडताल, यी हुन् राजधानीका १० कमाण्डर

नेकपा प्रचण्ड-माधव पक्षको आम हडताल, यी हुन् राजधानीका १० कमाण्डर

काठमाडौं । नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षले बिहीबारका लागि देशव्यापी आम हडताल आह्वान गरेको छ। बुधबार पेरिसडाँडामा आकस्मिक पत्रकार सम्मेलन गरेर आम हडतालका कार्यक्रम सार्वजनिक गरिएको हो।

पुस ५ गते प्रतिनिधि सभा विघटन गरिएपछि सो पक्षले विभिन्न किसिमका आन्दोलन गरिरहेकै थियो। तर, संवैधानिक परिषद्को विवादित सिफारिस अनुसार बुधबार ३२ जना पदाधिकारीले सपथ खाएर नियुक्ति पाएपछि भोलिपल्टैका लागि आम हडताल गरिएको हो।

बुधबार आम हडतालबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक निकायका नियुक्तिहरुलाई बलमिच्याइ, जोरजबर्जस्ती र निरंकुशतन्त्रको पराकाष्ठा भएको बताए।

‘देश आन्दोलनमय भएकै अवस्थामा सरकारले असंवैधानिक ढंगले, गैरकानुनी ढंगले सारा लोकतान्त्रिक मूल्य मान्यता र नजिरहरुलाई पूरै उपेक्षा गरेर संवैधानिक निकायका पदाधिकारीहरु र सदस्यहरुलाई नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाएको छ। यो बलमिच्याइँ, जोरजबर्जस्ती र निरंकुशतन्त्रको पराकाष्ठा हो’, श्रेष्ठले भनेका थिए।

उनले आफूहरुले शान्तिपूर्ण आन्दोलन गर्दै आएको र आम हडताल पनि शान्तिपूर्ण हुने प्रतिबद्धता व्यक्त गरे।

बिहीबारको आम हडताललाई राजधानीका ११ स्थानमा स्थायी कमिटिका सदस्यहरुले नेतृत्व गर्नेछन्। यी हुन् कमाण्डर:
कलङ्की :  युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य
बल्खु: वेदुराम भुसाल 
सातदोबाटो: देव गुरुङ 
पुल्चोक: पम्फा भुसाल 
कोटेश्‍वर: लीलामणि पोखरेल 
चाबहिल: वर्षमान पुन र हरिबोल गजुरेल 
महाराजगञ्‍ज: शक्ति बस्‍नेत
गोंगबु: भीम रावल 
बालाजु: रघुजी पन्त 
रत्‍नपार्क: नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा