आज ओली समूहको शक्ति प्रदर्शन, १३ स्थानबाट जुलुस निस्कने

आज ओली समूहको शक्ति प्रदर्शन, १३ स्थानबाट जुलुस निस्कने

काठमाडौं । विभाजित नेकपाको ओलीपक्षले आज राजधानीमा शक्ति प्रदर्शनसहित आमसभाको आयोजना गरेको छ । यसअघि प्रचण्ड-माधव समूहले माघ ९ गते काठमाडौंमा शक्ति प्रदर्शन गरेपछि ओली समूहले पनि आमसभा गर्न लागेको हो ।

दिउँसो १२ बजेदेखि दरबारमार्गस्थित नारायणहिटी संग्रहालयको गेटअगाडि हुन लागेको आमसभाका लागि १३ स्थानबाट जुलुस निस्कने ओली पक्षीय नेकपाले जनाएको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने आमसभाका लागि देशैभरबाट कार्यकर्ता काठमाडौं ल्याइएको बताइएको छ ।

शक्ति प्रदर्शनका लागि विभिन्न जिल्लाबाट सभामा ३ लाख कार्यकर्ता उतार्ने ओली समूहकाे दाबी छ ।

कार्यक्रमको प्रचारका लागि युवा संगठनले बिहीबार साँझ काठमाडौंमा मार्चपाससमेत गरेको थियो । प्रधानमन्त्रीको सिफारिसमा राषट्रपति विद्या भण्डारीले संसद विघटन गरेपछि नेकपा २ टुक्रा भएयता दुवै समूहले प्रतिस्पर्धात्मक सडक प्रदर्शन र भेला गरिरहेका छन् ।

कहाँ-कहाँबाट निस्किँदैछ जुलुस

बागबजारबाट सम्पूर्ण सम्पर्क मञ्चका सहभागी, प्रदर्शनीमार्गबाट युवा, विद्यार्थी,खेलकुद महासंघ र प्रेस संगठन लगायत, पेशागत संगठनहरुको जुलुस निस्कनेछ ।

महेन्द्र सालिकबाट पूर्व जनजाति महासंघका घटक संगठन, घण्टाघरमा मुस्लिम समुदायका सहभागी तथा सुन्धारा क्षेत्रबाट ललितपुर जिल्लाका सहभागीहरुको जुलुस निस्कनेछ ।

त्यस्तै त्रिपुरेश्वरबाट चितवन, धादिङ र सोही बाटो भएर आउने सबै सहभागी, गौशालाबाट भक्तपुर, माइतीघरबाट दोलखा,रामेछाप, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली जिल्लाबाट आउनेहरुको जुलुस निस्कनेछ ।

पुतलीसडकबाट सम्पूर्ण जनवर्गीय संगठन, लैनचौरबाट नुवाकोट, रसुवाका सहभागी, सोह्रखुट्टे नयाँ रोडबाट मकवानपुर, भीमफेदीको बाटोबाट आउनेका लागि तोकिएको छ ।

टेकुबाट निर्वाचन क्षेत्र नम्बर ९ र १०, वसन्तपुरबाट निर्वाचन क्षेत्र नम्बर ८, सोहखुट्टेबाट निर्वाचन क्षेत्र नम्बर ६ र ७,ज्ञानेश्वरबाट निर्वाचन क्षेत्र नम्बर ३, ४ र ५ तथा पुरानो बानेश्वरबाट निर्वाचन क्षेत्र नम्बर १, २ का जुलुस निस्कने गरी ठाउँ तोकिएको छ ।