म्यानमारमा फेसबुकलगायतका सामाजिक सञ्जाल प्रतिबन्ध

म्यानमारमा फेसबुकलगायतका सामाजिक सञ्जाल प्रतिबन्ध

म्यानमारमा बिहीबारदेखि फेसबुकलगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लागेको छ । लोकतान्त्रिक सरकारलाई ‘कु’ गरी सत्ता हातमा लिएको सेनाले सामाजिक सञ्जालमार्फत अशान्ति फैलिएको भन्दै प्रतिबन्ध लगाएको हो । सेनाले म्यानमारमा एक वर्षसम्म सैनिक शासन लागू हुने घोषणा गरेको छ । त्यसपछि निर्वाचित सरकारलाई शासन हस्तान्तरण गर्ने सेनाको भनाइ छ ।

यसै साता सेनाले म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलगायत शीर्ष नेताहरूलाई नजरबन्द गरी ‘कु’ गरेको थियो । सत्ता कुसँगै इन्टरनेट सेवा, बैंकिङ तथा टेलिफोन सेवा आंशिक बन्द भएको थियो । त्यसयता सैनिक कुको विरोधमा नेतृ सुकीका समर्थकले सामाजिक सञ्जालमार्फत सेनाको कदमको विरोध जनाउँदै आइरहेका थिए । उनीहरूको आवाज दबाउन पनि सेनाले सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाएको हो । तर, सेनाले भने देशमा अशान्ति मच्चाउन र अस्थिरता पैदा गर्न सामाजिक सञ्जालले भूमिका खेलको दाबी गरेको छ ।