सिमा व्यवस्थित नहुँदा आतंकवादी गतिविधिको खतरा: नेपाली सेना

सिमा व्यवस्थित नहुँदा आतंकवादी गतिविधिको खतरा: नेपाली सेना

काठमाडौँ  । नेपाली सेनाले अन्तर्राष्ट्रिय खुला सिमाना व्यवस्थित नहुँदा आतंकवादी तथा अपराधीबाट खतरा रहेको बताएको छ । खुला सिमाना व्यवस्थित गर्नुका साथै अन्तर्राष्ट्रिय सिमानामा खटिने निकायबीचको कार्यक्षेत्रसमेत स्पष्ट रूपमा तोकिनुपर्ने सेनाले उल्लेख गरेको छ ।

राष्ट्रिय सुरक्षा परिषद् सचिवालयद्वारा जंगीअड्डामा आइतबार आयोजित ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरूबीच समन्वयका क्षेत्रहरू’ विषयक दुईदिने सेमिनारमा प्रधानसेनापति पूर्णचन्द्र थापाले सीमा हुँदै अन्तर्राष्ट्रिय अपराधी एवं आतंकवादीका गतिविधिको जोखिम तथा खतरा निरन्तर रहँदै आएको बताए । चीन र भारतसँग नेपालको अत्यन्तै घनिष्ठ सम्बन्ध रहिआए पनि खुला सिमानाका कारण नेपाललाई सधैं खतरा रहने गरेको उनले बताए ।

‘खुला सीमाका कारण हुने तस्करी तथा चोरी निकासी, लागूऔषध, हतियार तथा विस्फोटक पदार्थहरूको ओसारपसार, गैरकानुनी घुसपैठ, चेलीबेटी बेचबिखन, मानव तस्करीलगायत अन्तर्राष्ट्रिय अपराधी एवं आतंकवादी गतिविधिको जोखिम तथा खतरा निरन्तर रहँदै आएको छ,’ थापाले भने, ‘यस्ता समस्याको दीर्घकालीन समाधानका लागि नेपालको अन्तर्राष्ट्रिय सीमालाई वैज्ञानिक ढंगबाट मजबुत बनाउनुपर्ने आवश्यकता हामी सबैले टड्कारो रूपमा महसुस गरेका छौं ।’ कान्तिपुर दैनिकमा मातृका दाहाल र जगदीश्वर पाण्डेले समाचार लेखेका छन् ।