जटिल मोडमा कांग्रेसः पार्टी जोगाउन भए पनि अबको ६ महिनाभित्र जसरी पनि महाधिवेशन गर्नुपर्ने

जटिल मोडमा कांग्रेसः पार्टी जोगाउन भए पनि अबको ६ महिनाभित्र जसरी पनि महाधिवेशन गर्नुपर्ने

काठमाडौं । आज नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दैछ । पार्टी प्रवक्ता विश्व प्रकाश शर्माका अनुसार बैठकमा पार्टीको १४ औं महाधिवेशनको नयाँ मिति र भावी आन्दोलनको स्वरुपको बारेमा छलफल हुनेछ ।

गत असार महिनामा बसेको केन्द्रीय कार्य समितिको बैठकले यही फागुन ७ देखि १० सम्म पार्टीको १४ औं महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर कोरोनाको कहर, क्रियाशील सदस्यता वितरणमा देखिएको झमेला र विभिन्न जिल्लामा समायोजनमा उत्पन्न गतिरोध लगायतका कारणले महाधिवेशन हुन सकेन । तर महाधिवेशन तय भएको मिति आउन दुई दिन बाँकी हुँदा पनि पार्टीले अर्काे निर्णय गर्न सकेको छैन ।

केन्द्रीय समितिको बैठकले अहिलेसम्म भएका प्रगतिको समीक्षा गर्दै नयाँ मिति घोषणाको बारेमा छलफल गर्नेछ । त्यसभन्दा पहिला पार्टीको केन्द्रीय समितिको म्याद थप्ने विषयमा निर्णय हुनेछ ।

केन्द्रीय समितिको चार वर्षे कार्यकाल गत फागुन महिनामा सकिएपछि एक वर्षको लागि म्याद थपिएको थियो । पार्टीको १३ औं महाधिवेशन २०७२ फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा भएको थियो ।

महाधिवेशनको तयारीलाई अगाडि बढाउने निर्णय भए पनि महाधिवेशनको यकिन मिति भने कांग्रेसले प्रतिनिधिसभाको विघटन सम्बन्धी सर्वाेच्चको फैसलापछि मात्र गर्ने सम्भावना रहेको नेताहरुले बताए । अब थपिने म्याद भदौसम्म सकिने भएकाले त्यसअगावै जसरी पनि महाधिवेशन गराउनुपर्ने छ ।

पार्टीको विधान अनुसार अब केन्द्रीय समितिको कार्यकाल लम्ब्याउन मिल्दैन । विधान अनुसार केन्द्रीय समितिको अवधि चार वर्ष हो र विशेष परिस्थितिमा अर्काे एक वर्ष थप्न सकिने प्रावधान छ । विधानअनुसार १ वर्ष थप गरिएको अवधि फागुन ७ मा सकिदैछ ।

अब संवैधानिक प्रावधान अनुसार ६ महिना कार्यकाल थप गर्न मिल्छ । संविधानको धारा २६९ को उपधारा ४ मा भनिएको छ, ‘राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एकपटक सो दलका संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्छ । तर, विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेका ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न वाधा पर्ने छैन ।’

त्यसैले संविधान अनुसार अब थप गरिने ६ महिना भनेको अन्तिम समय हो । यदि अबको छ महिनाभित्र महाधिवेशन हुन नसकेका या त दलहरुको विचमा सहमति भएर संविधान संशोधन गरेर महाधिवेशन गर्ने समयावधि अगाडि बढाउनुपर्छ । अर्काे विकल्प भनेको कांग्रेसले कुनै दलसँग एकता गर्ने र पार्टीको नाममा केही सामान्य परिवर्तन गरी निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्ने ।

यसरी नयाँ दलको रुपमा दर्ता गरेपछि त्यसको अवधि अर्काे साढे पाँच वर्ष हुनेछ । -अनलाईनखबर बाट