सधैं कति सडकमा आगो बाल्छौ कमरेड

सधैं कति सडकमा आगो बाल्छौ कमरेड

सधैं कति सडकमा आगो बाल्छौ कमरेड।
दाग लाग्छ पछि कसरी पखाल्छौ कमरेड।

तिम्रा आँखा सधैं मैतिर सोझिएका देख्छु,
आँखिर यसरी के हेर्छौ नियाल्छौ कमरेड।

रातो देख्नै हुँदैन के सम्झन्छौ कुन्नी तिमी,
गुलाफ दिदा किन मुट्ठी उचाल्छौ कमरेड।

नैतिकता वन्दकी राखेर ठुला कुरा गर्दछौ,
यो फुर्ति के उभ्याउछौ के ढाल्छौ कमरेड।

बिहानदेखि काम गर्दा पनि मुस्किल हुन्छ,
कसरी बिनाकाम परिवार पाल्छौ कमरेड।

कसरी आफूलाई सभ्य नागरिक सम्झन्छौ,
कसरी सडकमा यी नारा उराल्छौ कमरेड।

विश्वास लाग्न छोडिसक्यो कि अब मलाई
भन दिलमा राख्छौ वा निकाल्छौ कमरेड।
                  २०७७/११/०१ महेन्द्रनगर