कोभिड खोप लगाउनेको संख्या किन कम ?

कोभिड खोप लगाउनेको संख्या किन कम ?

काठमाडौं।  भारतले १० लाख डोज कोरोना खोप निःशुल्क उपलब्ध गराएपछि सरकारले नेपालमा पहिलो चरणको खोप अभियान सञ्चालन गर्‍यो। माघको १४ गतेदेखि सुरु भएको खोप अभियानमा ४ लाख ३० हजारलाई खोप लगाउने लक्ष्य थियो। तर लक्ष्यभन्दा आधा पनि खोप लगाउन आएनन्

पहिलो चरणमा सरकारले फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, एम्बुलेन्स र शवबाहन चालक, कारागारका कर्मचारी, कैदी लगायत खोप उपलब्ध गराउने निर्णय गरी खोप अभियान सञ्चालन गर्‍यो।

तर, सरकारको लक्ष्य अनुसार लक्षित समूहले खोप लगाउन नआएपछि पहिलो चरणको खोप अभियानलाई बढाउँदै खोप लगाउनेको समूहको दायरा पनि फराकिलो बनाउँदै लगेको छ। पहिलो चरणमा खोप लगाउनेको तथ्यांक नै मगाएर सूची तयार गर्दा पनि कोरोना खोप लगाउन नआएपछि सरकारले पत्रकार, कूटनीतिक नियोग र युएन एजेन्सीका कर्मचारीलाई प्राथमिकतामा राखेर खोप लगायो। तर त्यसो गर्दा पनि खोप लगाउनेको संख्या मुस्किलले २ लाख मात्र पुग्यो। 

फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स तथा शव बहानका चालकलाई मात्र पुग्ने भनिएको खोप त्यसपछि सरकारले सरकारी कार्यालयका कर्मचारी, निर्वाचित जनप्रतिनिधि र जिल्लाका पत्रकारलगायतलाई दिन सुरु गरेको छ। 

विश्वलाई नै आतंकित बनाइरहेको कोरोना भाइरसबाट जोगिने खोप लगाउन किन नेपालीहरुले चासो दिइरहेका छैनन् ? किन खोप लगाउनेको संख्या कम भएको हो ? स्वास्थ्य खबपत्रिकाको जिज्ञासामा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी भन्छन् ‘पहिलो चरणमा जिल्ला अस्पताल र राजधानीको पनि निश्चित स्थानमा मात्र खोप केन्द्र भएका कारण लक्षित समूहका धेरै जना खोपको पहुँचमा आउन नसकेका हुन्।’

उनका अनुसार पहिलो चरणमा लगाउन भनेर सूचीमा रहेका महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय तहमा खटिएका स्वास्थ्यकर्मी जिल्लामा खोप लगाउन आउन नसकेका कारण पनि संख्यामा कमि भएको हो।

भन्छन्, ‘हामीले पहिलो चरणमा जिल्लास्थित् अस्पतालमा मात्र खोप केन्द्र राख्यौं। पहिलो चरणमा महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय तहसम्म खटिएका स्वास्थ्यकर्मीलगायतका लक्षित समूह जिल्लामा खोप लगाउन आउन सक्नुभएन।’

त्यसबाहेक खोप लगाउन नमिल्ने समूह, सक्रिय कोरोना संक्रमित, गर्भवति, एक्सक्लुसिभ ब्रेस्टफिडिङ गराइरहेका महिलाहरुले पनि खोप लगाउन नपाएको उनको भनाइ छ।

‘नयाँ खोप भएकाले के हुन्छ। कस्तो हुन्छ भन्ने स्वाभाविक आंशका पनि देखिए। अहिले धेरैले खोप लगाइसकेपछि पहिले डराएका व्यक्तिहरुले पनि खोप लगाइरहनुभएको छ,’ अधिकारीले भने।

परिवार कल्याण महाखाशाका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले कोभिसिल्ड खोप नेपालसहित १६ वटा राष्ट्रमा प्रयोग भइरहेकाले ढुक्क भएर खोप लगाउन सबैलाई आग्रह गरे।

खोपको प्रभावकारिता र महत्वबारे सबैलाई सही रुपमा बुझाउन नसकिएको उनले बताए। 

उनले भने, ‘यो कोभिसिल्ड खोप सुरक्षित छ। तर, सबैलाई हामीले यो कुरा बुझाउन सकेका छैनौं। यही नै हाम्रो लागि सबैभन्दा ठूलो चुनौती छ। तर, धेरै डाक्टर, स्वास्थ्यकर्मी, सञ्चारकर्मीहरुले खोप लगाएको देखेपछि पछिल्ला दिनमा खोपको माग बढेको छ।’

भारतले नेपाललाई सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको अक्सफोर्ड–एस्ट्राजेनिकाको कोरोना विरुद्धको खोप कोभिसिल्ड उपलब्ध गराएको हो।

कोभिसिल्ड खोपको प्रभावकारिता ७८ प्रतिशतसम्म रहेको डा गौतमले जानकारी दिए। खोप लगाएपछि जनस्वास्थ्यका मापदण्डहरु पालना पनि अत्यावश्यक रहेको उनको भनाइ छ। -स्वास्थ्य खबरबाट