आठ वर्षमा २६६ जनामा दुर्लभ रोग फेला, सरकारलाई गम्भीर बन्न चिकित्सकको सुझाब

आठ वर्षमा २६६ जनामा दुर्लभ रोग फेला, सरकारलाई गम्भीर बन्न चिकित्सकको सुझाब

आठ वर्षको अवधिमा देशभर दुई सय ६६ जनामा दुर्लभ रोग भएको पत्ता लागेको छ । वंशाणुगत रोग विशेषज्ञ डा. निलम ठाकुरले आफूले आठ वर्षको सेवामा दुई सय ६६ जनामा दुर्लभ रोग पत्ता लगाएको बताएकी छिन् । ठाकुर नेपालको पहिलो वंशाणुगत रोग विशेषज्ञ हुन् ।

नोभा इन्टरनेसनल डायग्नोस्टिकले विश्व दुर्लभ रोग दिवसको अवसर पारेर आइतबार आयोजना गरेको एक कार्यक्रममा डा.ठाकुरले यो संख्या पत्ता लागेको मात्रै उल्लेख गरिएको बताइन् । ‘उपचारमा आएकाको रेकर्ड राखिएको संख्या मात्रै हो,’ उनले भनिन्, ‘उपचारमा नआएका र नभेटिएकाको संख्या निकै ठूलो हुन सक्छ ।’ दुर्लभ रोगबारे सरकार गम्भीर हुनुपर्ने आवश्यकता रहेकोमा उनले जोड दिइन् ।

दुर्लभ रोगबारे समयमा खोजीकार्य नगर्दा दीर्घकालीन रूपमा राज्यलाई नै समस्या हुने चिकित्सकहरू बताउँछन् । हाल विश्वमा आठ हजारभन्दा बढी दुर्लभ रोग पत्ता लागिसकेका छन् । प्रत्येक वर्ष कम्तीमा पनि दुई सय ५० जना रोगी थपिने गरेको विभिन्न तथ्यांकले देखाएको छ ।

चिकित्सकका अनुसार डाउन सिन्ड्रोम, सिकलसेल एनिमिया, थालासेमियालगायत दुर्लभ रोगभित्र पर्छन् । पछिल्लो समय यी रोग नेपालमा बढ्दै गएको छ । विश्वमा देखिने दुर्लभ रोगमध्ये ८५ प्रतिशत बढी वंशाणुगत हुने गरेको छ । -नयाँ पत्रिका दैनिकबाट