छोइला के हो ? कसरी बनाउने

छोइला के हो ? कसरी बनाउने

काठमाडौं । ‘छोइला’ शब्द सुन्दा मुख नरसाउने सायदै कसैको होला । नेवारी ‘मेनु’मा ‘छोइला’ नभई नहुने तर लेखिरहन पनि नपर्ने परिकार हो । नेवारी समयबजी छोइलाबिना अपूरो हुन्छ भन्दा फरक नपार्ला ।

यसको क्रेज यति धेरै बढिसकेको छ कि पछिल्लो समय, नेवारभन्दा पनि अन्य समुदायका व्यक्तिहरुको मुखबाट यो परिकारको गुनगान धेरै सुन्न पाइन्छ । उनीहरुले नेवारी मेनुमा खोज्ने सबैभन्दा पहिलो परिकार भनेकै छोइला हो ।

यो विशेषगरी बजी अर्थात् चिउराको भरपर्दो साथी हो । अलिअलि पिरो, अलिअलि मसालेदार यो परिकारको स्वाद एकपटक जिब्रोले लिइसकेपछि पटक–पटक लिन पल्किन्छ ।

नेवारी बोलीचालीको ‘छ्वेला’ शब्द समयक्रममा लेखन र बोलाइमा ‘छोइला’ बन्न गएको हो । छोइलाको टिपिकल अर्थ भनेको ‘छुयुः ला’ अर्थात् पोलेको मासु भन्ने हुन्छ । काँचो मासुलाई पोलेर मात्रै तयार गरिने भएकाले यसलाई छोइला भनिएको हो ।

विशेषगरी राँगाको फलमासुलाई लामो–लामो गरी काटेर ‘धुसु’ (फलामको त्रिशूलजस्तो वस्तु, जुन यसैका लागि बनाइएको हुन्छ)मा राखेर पराल बाली १० देखि १५ मिनेटसम्म पोलिन्छ । मासु बाहिर कालो र भित्र अलिअलि रातो हुने गरी पाकेपछि त्यसलाई आगोबाट निकालेर सानो–सानो टुक्रा पारेर काटिन्छ । छोइला काटिरहँदा यो निकै ‘जुसी’ हुन्छ । काटेको छोइलामा रातो खुर्सानी, अदुवा–लसुनको पेस्ट, नुन, थोरै अजिना मोटो, हरियो लसुन, उसिनेको गोलभेडा तथा तोरीको तेलमा मेथी र बेसार फुराएर यी सबै मसला हालेको छोइला मोलिन्छ । पानी नहाली तोरीको तेल मासुमा मज्जाले छिर्ने गरी छोइला मोलिन्छ । अन्तिममा सजावट र स्वादको लागि धनियाँ काटेर माथि राखिन्छ । तयारी छोइलाको मिठो बास्नाले नेवारी खाजाघरमा छोइला अर्डरमा अग्रस्थानमा आउँछ । -बाह्रखरीबाट