सुदूरपश्चिममा एमाले विवाद : नेपाल समुहका नेता प्रहरी नियन्त्रणमा

सुदूरपश्चिममा एमाले विवाद : नेपाल समुहका नेता प्रहरी नियन्त्रणमा

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा भएको कुटाकुट घटनापछि प्रहरीले एक जना नेतालाई नियन्त्रणमा लिएको छ। प्रहरीले माधव समूहका एक नेतालाई नियन्त्रणका लिएको हो।

पार्टी कार्यालयमा डिएसपी प्रतिक विष्टको नेतृत्वमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। यसअघि पार्टी कार्यालयमा एमालेमा ओली समूह र माधव समूहका कार्यकर्ता बिच कुटाकुट भएको थियो। पार्टी कार्यालयमा प्रदेश इन्चार्जमा भट्टको ‘नेम प्लेट’ राखेपछि नेपाल समूहका कार्यकर्ताहरुले ‘नेम प्लेट’ तोडफोड गरेका थिए।

कैलाली प्रशासनले संभावित झडपको आकलन गरेर बिहानैदेखि कार्यालय परिसरमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेको थियो । एमालेले उक्त भवन भाडामा लिएर प्रदेश कार्यालय स्थापना गरेको थियो । माओवादी केन्द्र र एमालेबीच एकता भएपछि सोही भवनमा नेकपाको प्रदेश कार्यालय स्थापना गरिएको थियो । त्यतिञ्जेल घरधनीसँग नेकपाकै सम्झौता थियो ।

पछिल्लो समय नेकपाभित्र ओली र दाहाल–नेपाल पक्षबीच दरार आएपछि दाहाल–पक्षीय नेकपाका ईन्चार्ज रहेका रावलले त्यसअघिको सम्झौता भंग गरेर आफ्नै नामबाट घरधनीसँग सम्झौता गरेका थिए । हाल उक्त कार्यालय भवनको सम्झौता ईन्चार्जका हैसियतले आफ्नो नाममा रहेको छ ।

सर्वोच्च अदालतको फैसलापछि साविकको नेकपाबाट ओली र नेपाल समूह दुबै पूर्ववत् एमालेमा फर्किए पनि नेता कार्यकर्ताहरुमा पुरानो तुष देखिएको छ ।