पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा हाम्राे भूमिका रहँदैन : निगम

पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा हाम्राे भूमिका रहँदैन : निगम

नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा आफ्नो भूमिका नहुने स्पष्ट पारेको छ । नेपाल आयल निगम लिमिटेडका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोल, डिजेललगायतका पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा नेपाल सरकार र आयल निगमको ठूलो भूमिका नहुने बताउनुभएको हो । 

उहाँले आयल निगमले बिक्री गर्ने तेलको मूल्य निर्धारण स्रोतमा हुने मूल्यको घटबढले निर्धारण गर्ने स्पष्ट पार्नुभयो । डलरको रेट, क्रुड आयलमा बढ्ने रेट र ढुवानीको खर्चले पेट्रोलियम पदार्थको मूल्यलाई घटबढ गराउने उहाँकाे भनाइ छ । बाहिर समाचारमा आए जस्तो निगमको आन्तरिक खर्च र व्यवस्थापनको खर्च धान्ने विषय मूल्यसँग नजोडिने बताउनु भयो । 

आयल निगमको खर्च धान्नका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने अवस्था नरहेको पनि बताउनुभयो । प्राकृतिक हिसाबले मूल्य घटबढ हुने भएकाले मूल्य बढ्दा बढाउनुपर्ने र घट्दा घटाउनुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो-‘अन्य स्रोतबाटै निगम र कर्मचारीको खर्च टर्छ । यस्ता खर्चले गर्दा पेट्रोलियम पदार्थको मूल्यमा कुनै पनि असर आउँदैन । यो मूल्य बढ्नमा सरकारको र निगमको भूमिका छैन । पेट्रोलियम पदार्थको मूल्य प्राकृतिक हिसाबले नै बढेको हो ।’

आयल निगमले मूल्यवृद्धि हुँदा पनि कम मात्रै बढाएर बिक्री गरेको पनि उहाँले बताउनुभयो । मूल्यवृद्धि लामो समयसम्म रहे ठूलै लेभलको मूल्य समायोजन गर्नुपर्ने अवस्था आउनसक्ने उहाँको भनाइ छ । अहिले निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ सय १६ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँ र खाना पकाउने एल पी ग्याँसको मूल्य १४ सय रुपैयाँ कायम गरेको छ ।