थारु आयोगद्वारा थारुहरुको थर सम्बन्धी पहिलो मस्यौदा सार्वजनिक

थारु आयोगद्वारा थारुहरुको थर सम्बन्धी पहिलो मस्यौदा सार्वजनिक

कैलाली ।  थारु आयोगले थारु जातिको थर सूचीकरण सम्बन्धी पहिलो मस्यौदा सार्वजनिक गरेको छ। 

काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच आयोगले थारुहरुको थरबारे बृहत छलफल गर्दै सूचीकरण सम्बन्धी प्रारम्भिक ड्राफ्ट सार्वजनिक गरेको हो। डा. कृष्णराज सर्वहारीको नेतृत्वमा संकलन गरिएका थारुहरुको थरहरु सार्वजनिक गरिएको थियो। 

७ वटै प्रदेशमा खटिएका अनुसन्धानकर्ताहरुले थारुहरुको थर, उपथर र थर बन्नुका मिथक प्रस्तुत गरेका थिए। आयोगले छलफलका लागि प्रस्ताव गरिएको कार्यपत्रअनुसार कैलालीमा ३५७, कञ्चनपुरमा २२९, सुर्खेतमा ५३, बर्दियामा ३७९, बाँकेमा १३६, दाङमा १४३, कपिलवस्तुमा १६, रुपन्देहीमा १७ र नवलपरासी पश्चिममा २१ वटा थर समावेश गरिएको छ।

नवलपरासी पूर्वमा २२, चितवनमा २३, मकवानपुरमा ६, पर्सामा २१, बारामा २३, रौतहटमा १५, सर्लाहीमा ९, महोत्तरीमा १२, धनुषामा ३, सिरहामा ६६, सप्तरीमा १४५, उदयपुरमा ४४, सुनसरीमा ७७, मोरङमा ५१ र झापामा ५५ थर खोज गरिएको डा. सर्वहारीद्वारा प्रस्तुत गरिएको कार्यपत्रमा उल्लेख छ।

यी थरहरुमा कतिपय दोहोरिएको र कतिपय समावेश नभएको पनि हुनसक्ने सर्वहारीले बताए। “हाललाई यी उल्लेखित संख्यामा सूचीकरण देखिएको हो। यसमा कतिपय थरहरु दोहोरिएका हुनसक्छन् वा कतिपय छुटेका पनि हुनसक्छन्। थारु आयोगले सूचीकरणको सुरुवात गरेको छ। अगामी दिनमा छुटफुट थरहरु पक्कै समावेश हुँदै जानेछन्,” कार्य पत्र प्रस्तुत गर्दै उनले भने।

त्रिभुवन विश्वविद्यालयका मानवशास्त्र विभागका प्रोफेसर डा डम्बर चेम्जोङको नेतृत्वमा तयार पारिएको हो। जसको लिड अनुसन्धानकर्ता डा. सर्वहारी रहेका छन्। त्यस्तै रामसागर चौधरी, राकेश चौधरी, सीएन थारु, हरिमाया थनेत, एकराज चौधरी, छबिलाल कोपिला र सुस्मा राई अनुसन्धानकर्ताका रुपमा रहेका छन्।