अलैंची र चिया निर्यात साढे दुई अर्बले बढ्यो

अलैंची र चिया निर्यात साढे दुई अर्बले बढ्यो

मुलुकबाट निर्यातयोग्य वस्तुमध्ये सबैभन्दा धेरै अलैंची र चियाको निर्यात भएको छ । अन्तर्राष्ट्रिय बजारमा अलैंची र चियाको माग बढ्दै गएकाले निर्यातमा उलेख्य वृद्धि भएको हो । व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्यांकअनुसार चालू आर्थिक वर्षको सात महिनासम्ममा चियाको निर्यातमा ६३ प्रतिशत र अलैंचीको निर्यातमा ४८ प्रतिशतले वृद्धि भएको छ ।

अन्य वस्तुको निर्यातमा खासै वृद्धि नभए पनि चिया र अलैंचीको निर्यात बढेको छ । चालू आर्थिक वर्षको माघ महिनासम्ममा ४ अर्ब २८ करोड २२ लाख १४ हजार रुपैयाँ बराबरको ५३ लाख ६२ हजार ३ सय ३३ किलो अलैंची निर्यात भएको छ ।

अघिल्लो वर्ष सो अवधिमा २ अर्ब ८७ करोड ८५ लाख ८८ हजार रुपैयाँ बराबरको ३५ लाख ८१ हजार ६ सय ५ किलो निर्यात भएको थियो । अघिल्लो वर्षको तथ्यांकको तुलनामा यो झण्डै साढे दुई अर्ब बढी हो । विश्व बजारमा अलैंचीको माग बढ्दै गएकाले पनि निर्यातमा उल्लेख्य वृद्धि भएको हो ।

यस्तै सात महिनाको अवधिमा मुलुकबाट २ अर्ब ९३ करोड ५ लाख २१ हजार रुपैयाँ बराबरको ९२ लाख ९० हजार ९ सय ५४ किलो चिया निर्यात भएको केन्द्रको तथ्यांक छ । अघिल्लो वर्ष सो अवधिमा १ अर्ब ७९ करोड २० लाख १३ हजार रुपैयाँ बराबरको ७४ लाख ६ हजार ३ सय ७० किलो चिया निर्यात भएको थियो । नेपालमा उत्पादित चिया जर्मनी, जापान, फ्रान्स, अमेरिका, अष्ट्रेलियालगायत मुलुकमा निर्यात हुँदै आएको छ ।

यस्तै अलैंची, छिमेकी मुलुक भारत, चीन, यूएई, पाकिस्तानलगायत मुलुकमा निर्यात हुने गर्छ । भारतका मुख्य अलैंची उत्पादन हुने क्षेत्रमा अलैंची मासिन थालेपछि यो वर्ष भारतमा अलैंचीको माग बढी भएको व्यवसायीको भनाइ छ । माग बढेकाले पनि छिमेकी मुलुक भारतमा ठूलो परिमाणमा अलैंची निर्यात भएको छ ।

चालू अािर्थक वर्षको माघ महिनासम्म स्वदेशी वस्तुको निर्यात ७ प्रतिशतले बढेर ६९ अर्ब ९१ करोड ७० लाख ८० हजार रुपैयाँको निर्यात भएको छ । अघिल्लो वर्ष सो अवधिमा ६४ अर्ब ९७ करोड १२ लाख २७ हजार रुपैयाँको निर्यात भएको थियो ।