माधव नेपाल र भीम रावललाई कम्तीमा ६ महिना पार्टीबाट निलम्बन गर्नुपर्छ : सूर्य थापा

माधव नेपाल र भीम रावललाई कम्तीमा ६ महिना पार्टीबाट निलम्बन गर्नुपर्छ : सूर्य थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावललाई कम्तीमा ६ महिना पार्टीबाट निलम्बन गर्नुपर्ने बताएका छन्।

नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका थापाले नेता नेपाल र रावललाई ६–६ महिना निलम्बन गरेर पार्टीको शुद्धीकरण अभियान बढाउनुको विकल्प नभएको बताएका हुन्। सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै थापाले अध्यक्ष ओलीलाई अर्घेलो देखाउन खोज्ने, केन्द्रीय कमिटीका १०औँ, ११औँ र १२औँ बैठकप्रति अनादर, अपमान र अनुचित टिप्पणी गर्ने, समानान्तर गतिविधि गर्ने र बार्गेनिङ गर्ने जस्ता कार्यहरु अब मान्य र स्वीकार्य नहुनेसमेत बताएका छन्।

प्रेस सल्लाहकार थापाले पार्टी अध्यक्ष र प्रधानमन्त्रीसहित एक दर्जन नेतामाथि कारबाहीको घोषणा गर्ने, समर्थनमा थपडी बजाउने र पार्टी कब्जा गर्ने नियतमा स्वरमा स्वर मिलाउन तछाडमछाड गरेकाहरुले नै अहिले पार्टी एकताका लागि तछाडमछाड गरेको टिप्पणी गरेका छन्। थापाले प्रचण्ड र माधव नेपालका इमान्दार नोकर बनेको भन्दै नेपाल पक्षका सबै नेताहरुमाथि आक्रोश पोखेका छन्।