आजदेखि मौसम अलि सुधार हुने !

आजदेखि मौसम अलि सुधार हुने !

काठमाण्डाै | काठमाण्डौको आकाश केही दिनदेखि धुम्मिएको छ । हिजोबेलुकादेखि नै पश्चिमी वायुको  थोरै प्रभाव देखिएकाले आजदेखि अलि सुधार हुने देखिएको छ । पश्चिमी वायुको थोरै प्रभाव देखिएको भए पनि तत्कालका लागि सशक्त मौसमी प्रणाली देखिएको छैन । 

स्थानीय वायुकै प्रभाव देखिएको भए पनि प्रदूषणयुक्त तुवाँलो हट्थ्यो । तर त्यस्तो कुनै प्रणाली नभएकाले तत्काल पूर्णरुपमा हटेर जाने सम्भावना छैन । यो नै  एउटा प्रदूषित प्रणाली भएर बसेको छ । प्रदूषित प्रणाली वातावरणसँग सम्बन्धित छ ।

प्रदूषणको अवस्थाबारे मौसमविद्लाई त्यति थाहा नभए पनि तुवाँलो किन स्थिर भयो भन्ने कुरा विचारणीय छ । मौसम प्रत्येक दिन परिवर्तन भइरहने कुरा हो । तर कहिलेकाहीँ कुनै सिस्टमले त्यसलाई छेकिदिन्छ । 

मौसमी प्रणाली घुमिरहेको अवस्थामा त्यसकै विपरीतमा अर्को मौसमी प्रणाली घुमिरहेको छ भने त्यो प्रणालीले आइराखेको अर्को मौसमी प्रणालीलाई पनि आउन दिँदैन । छेकिदिन्छ । त्यस्तो प्रणालीलाई ब्लकिङहाइ भनिन्छ । अहिलेको मौसम ब्लकिङ हाइ भएको अनुमान गरिएको छ । 

वायुमण्डलको स्थिर अवस्थालाई भगाउन  हावाको वेगहरु आउनु जरुरी हुन्छ । पानी परेर वायुमण्डलमा भएको प्रदूषणलाई तल झार्नुपर्ने हुन्छ । तर तत्कालको लागि वायुमण्डल नै सफा बनाउने गरी पानी पर्ने सम्भावना छैन ।  पानी पार्ने मौसमी प्रणाली कमजोर देखिएको छ । 

चैत, वैशाखको समय भनेको हावा चल्ने समय हो । वायुमण्डलको तल्लो सतहमा राम्रोसँग घाम लाग्न पायो र तात्न पायो भने त्यसले न्यूनचापीय रेखाको उत्पादन गर्छ ।  त्यसले एकातिर चिसो र अर्कोतिर तातो  वातावरण बनाइदियो भने अलिअलि भए पनि प्रदूषण घट्ने सम्भावना हुन्छ । 

आजदेखि बिस्तारै मौसम खुल्दै जाने अनुमान छ  ।  अहिले हावाको गति अलि छिटो चलेको जस्तो देखिएको छ । प्रविधिले देखाएको कुरालाई आधार मानेर भन्नुपर्दा आजदेखि अलि सुधार हुने देखिन्छ । कहिलेकाहीँ कुनै पनि मौसमी प्रणाली नदेखिए पनि केही न केही परिवर्तन भइरहेको हुन्छ । वायुमण्डल गतिशील नै भइरहेको हुन्छ । तर हामीले खासै महशुस गरेका हुँदैनौँ । 

हिउँदमा  पश्चिमी वायुको प्रभाव भनिएको हुन्छ । बर्खामा जहिल्यै मनसुनी हावाको कुरा भइरहेको हुन्छ । मौसम स्थिर बस्न सक्दैन । स्थिर नभए पनि गति  कस्तो छ भन्नेमा भर पर्छ । कति समयसम्म रहने भन्ने कुरा वातावरणकै तत्वहरुले निर्धारण गर्छ । 

काठमाण्डौ उपत्यका कचौरा आकारको छ । यहाँ भएको हावा बाहिर गएन भने यस्तो मौसम धुम्मिन्छ । तीन, चार वर्ष अगाडि, पनि ३,४ दिनसम्म नै यस्तो खालको मौसम देखिएको  थियो । मौसम सफा हुने बित्तिक्कै प्रदूषणको मात्रा कम हुँदै जान्छ ।

जनसङ्ख्या धेरै भएको ठाउँमा नै स्वाभाविक रुपमा प्रदूषण  पनि धेरै हुन्छ । फेरि प्रदूषण भयो भनेर घरभित्रै बसेर पनि  दैनिकी चलाउन समस्या हुन्छ । मौसम सुधार हुँदै गएमा प्रदूषण पनि बिस्तारै कम हुँदै जान्छ । 
मौसम अँध्यारो जस्तो भएमा, धुम्मिएको देखेमा मानिसहरु प्रलय नै  आउन लागेको होकी ? वा भूकम्प पो जान्छ की भन्ने शंका गर्छन् । तर त्यस्तो सोच्नु हुँदैन । प्रदूषणसँग जोडिएर अरु अवाञ्छित घटना हुने होइन । 

वायुमण्डलमा प्रदूषण घुम्दा भने प्रदूषणका कारण अरु स्वास्थ्य समस्याहरु धेरै नै हुन्छन् । यो वर्ष हिउँदमा पनि खासै पानी परेन । प्रि-मनसुनमा पनि कम नै  पानी पर्छ भन्ने अनुमान छ ।  प्रि-मनसुन सुरु भएको एक महिना हुनै लाग्दा पनि खासै पानी नपर्नुले यो कुरालाई सङ्केत गर्छ ।

यो वर्षको बर्खाको समयमा पानी कति पर्छ भन्नेबारे भने अहिल्यै भन्न सकिँदैन । तर नर्मलभन्दा अलि बढी  पानी पर्छ कि ? भन्ने  अनुमान गरिएको छ । -उज्यालोबाट