एमाले ब्युँतिएको २३ दिनमा ओलीले लिए बदला : अब के गर्लान् माधव नेपाल ?

एमाले ब्युँतिएको २३ दिनमा ओलीले लिए बदला : अब के गर्लान् माधव नेपाल ?

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) को एकता बदर गरेर एकताअघिको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँताइदिएपछि पनि तीमध्ये एमालेमा थप विग्रहका ‘झिल्का’हरु एकपछि अर्को गरी देखिन थालेका छन् । सर्वोच्चको फैसलालगत्तै दुई पार्टी अस्तित्वमा आएसँगै हाल एमालेमा देखिएको विवाद भने एकीकृत अवस्थाको नेकपासँग नै जोडिएको छ ।

तत्कालीन नेकपामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मनपरी ढंगले सरकार चलाउने, पार्टीसँग कुनै परामर्श नगर्ने, राजनीतिक नियुक्तिमा आफ्नालाई च्याप्नेमात्र नभई पार्टीलाई विधि र पद्दतिमा सञ्चालन नगरेको भन्दै प्रचण्डसहित माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठसहितका ९ सदस्यीय सचिवालयका ५ जनाले ‘विद्रोह’ गर्दै ओलीविरुद्ध मोर्चाबन्दी गरेपछि पार्टीमा दुई लाइन संघर्ष सुरु भएको थियो ।

कम्युनिस्ट पार्टीमा दुई लाइन संघर्ष सामान्यजस्तै भए पनि ओलीले ‘विरोधीलाई देखाइदिने शैली’ मा थप निर्णयका साथै अन्तिम अस्त्रका रुपमा प्रतिनिधिसभा नै विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय गरेपछि पार्टी राजनीतिक रुपमै विभाजित बन्यो । विघटनसँगै प्रचण्ड–नेपाल समूहले ओलीलाई पार्टी अध्यक्ष र साधारण सदस्यसमेत नरहने गरी निस्कासनको घोषणा मात्रै गरेन, उनको कदमविरुद्ध सडक संघर्ष नै ग¥यो । पुस ५ को प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमदेखि फागुन ११ गते (विघटन उल्ट्याउने फैसला) सम्म प्रचण्ड–नेपाल समूहले ओली र उनी निकट समूहलाई कारबाहीको ठण्डा बर्साउनुसम्म बर्सायो । त्यतिबेला पार्टीमा रक्षात्मक अवस्थामा ओली पुगेपनि सर्वोच्चले नेकपाको आधिकारिकता विवादबारे फागुन २३ मा फैसला गरेपछि राजनीतिमा यु–टर्न भएको थियो ।

त्यसपछि एमालेमा फर्किएका माधव नेपाल समूहलाई ओलीले सोमबार ६ महिने निलम्बनको घोषणा गरेर बदलाको राजनीतिको सुरुवात गरेका छन् ।