फोहोर मैला व्यवस्थापन केन्द्रलाई जग्गा अभाव, एडिबीको ऋण सहयोग सधैँका लागि फिर्ता जाने चिन्ता

फोहोर मैला व्यवस्थापन केन्द्रलाई जग्गा अभाव, एडिबीको ऋण सहयोग सधैँका लागि फिर्ता जाने चिन्ता

एक दिनमा २० टनभन्दा बढी फोहोर उत्पादन हुने सुदूरपश्चिमको राजधानी सहर धनगढीमा फोहोरमैला व्यवस्थापन केन्द्र स्थापना हुन सकेको छैन । डम्पिङ साइट निर्माणका लागि एसियाली विकास बैंक (एडीबी) ले चार वर्षअघि एक अर्बभन्दा बढी ऋण रकम प्रदान गरे पनि समयमा काम सम्पन्न हुन नसक्दा बर्सेनि फ्रिज हुँदै गएको छ ।

चालु आर्थिक वर्षमा धनगढी उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि जग्गा उपलब्ध गराउन नसके एडीबीको ऋण सहयोग सधैंका लागि फिर्ता जाने आयोजना कार्यान्वयन एकाइका प्रमुख प्रवीण शाहले बताए ।

उनका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा एडीबीले सुदूरपश्चिमका चारवटा नगरपालिका धनगढी, गोदावरी, शुक्लाफाँटा र भीमदत्त नगरपालिकाको क्षेत्रीय सहरको स्तरोन्नतिका लागि चारवटा प्याकेजमा करिब ९ अर्ब ऋण सहयोग उपलब्ध गराएको थियो ।

जसमध्ये दिशाजन्य पदार्थ तथा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि मात्रै २ अर्बभन्दा बढी रकम थियो । आयोजना प्रमुख शाहाले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि जग्गाको खोजीमा चार वर्ष बितेको बताए ।