कोरोना महामारी : सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने

कोरोना महामारी : सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने

काठमाडौं : सरकारले सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको छ। सोमबार पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्रिपरिषदको बिहान बसेको बैठकले विवाह,ब्रतबन्ध, महोत्सव, जात्रा, पर्व र मलामी २५ जनाभन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको जानकारी दिए।

नयाँ भेरियन्टको कोरोना संकमण बढ्दै गएकोले सरकारले जनस्वास्थ्यको मापदण्डसहित नयाँ आदेश जारी गरेको हो। उनले पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने स्पष्ट पारे। 

कोरोना भाइरसको संक्रमण बढेको भन्दै बैठकले मास्क नलगाउनेलाई भने सार्वजनिक सवारीमा चढ्न नदिन आग्रह गरेको छ। मास्क नलगाएका यात्रुलाई १० रुपैयाँ लिएर मास्क उपलब्ध गराउन पनि सरकारले निर्देशन दिएको छ। उनले उच्च संक्रमण देखिएको खण्डमा स्थानीय प्रशासनले आदेश लागू गर्नसक्ने बताए। उनले नाकामा होल्डिङ सेन्टर स्थापना गर्ने बताए।

पूर्व निर्धारित कुनै पनि परीक्षाहरु नरोक्ने सरकारले निर्णय गरेको छ। सरकारले पूर्व निर्धारित परीक्षाहरु स्वास्थ्य मापदण्ड अपनाएर सुचारु गर्ने निर्णय गरेको हो। गुरुङले पहिलो चरणको खोप लगाएकालाई दोस्रो चरणको खोप मंगलबारबाट लगाइने जानकारी दिए।