दोधारा-चाँदनी सुख्खा बन्दरगाहको गुरुयोजना तयार

दोधारा-चाँदनी सुख्खा बन्दरगाहको गुरुयोजना तयार

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा विकासको ढोका खुल्ने आशा गरिएको दोधारा-चाँदनी सुख्खा बन्दरगाह तथा एकीकृत जाँच चौकीको गुरुयोजना तयार भएको छ । तीन वर्ष १० महिनामा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको परियोजनाको पहिलो फेजको लागत ६ अर्ब ९८ करोड १६ लाख रुपैयाँ बराबर हुने इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

कञ्चनपुरको महाकाली पारी दोधारा-चाँदनीको गौरीशंकर र मायापुरी सामुदायिक जंगल क्षेत्रमा बन्ने परियोजनाका लागि २८० बिघा जमिन प्राप्तिको सुनिश्चितता भएको परियोजनाका इन्जिनियर कमल प्रसाद जोशीले बताए । ‘यो परियोजना नेपाल सरकारकै लगानीमा निर्माण हुनेछ । पहिलो फेज अन्तर्गत रेलबाहेकको संरचना निर्माण तीन वर्ष १० महिनामा सक्ने र लागत ६ अर्ब ९८ करोड १६ लाख रुपैयाँ भन्दा केही बढी देखिएको छ,’ इन्जिनियर जोशीले भने । परियोजना निर्माणका लागि स्थानीयको सहमति रहेको र सरकारले पनि बन्दरगाह निर्माण प्राथमिकतामा राखेका कारण परियोजनाले गति लिने विकास समितिको दाबी छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको सहसचिव नेतृत्वको प्राविधिक समितिको सिफारिसअनुसारको क्षेत्रमै आधारित रहेर परियोजनाको गुरुयोजना तयार भएको विकास समितिले जनाएको छ । गुरुयोजना बनाउन तीन महिना, वातावरणीय प्रभाव मूल्यांकन तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न तथा ठेक्का आह्वान गर्न १५ महिना लाग्ने गुरुयोजानामा भनिएको छ । यस्तै टेण्डर छनोटमा ४ महिना र निर्माण अवधि २४ महिना गरी ३ वर्ष १० महिनामा परियोजना निर्माण सकिने मास्टर प्लानमा उल्लेख छ । ईआईए र डीपीआरका लागि पूर्वस्वीकृति लिन वन मन्त्रालयसँग स्वीकृति मागिएको तथा सो कार्यका लागि नयाँ बजेटमा थप आर्थिक साहायताका लागि अर्थमा प्रस्ताव गरिएको विकास समितिले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा हुने व्यापारका लागि माल वस्तु ढुवानीका ट्रक कन्टेनर अहिले नेपालगञ्ज र भैरहवाबाट त्यतातर्फ जाने गरेका छन् ।

लामो दुरीका कारण सुदूरपश्चिमले भोगेको समस्या समाधान गर्न सो स्थान भएर तेस्रो मलुकुसँगको व्यापारको ढोका खोल्न दोधारा-चाँदनीमा व्यापारिक पूर्वाधार सरकारको उच्च प्राथमिकतामा रहको विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल बताउँछन् ।

औद्योगिक विकासमा तीब्र गतिमा काम गरिरहेको भारतीय भूमि भएर तोकलहावाद र मुन्द्रा पोर्ट भएर तेस्रो मुलुकसँगको व्यापरका लागि दोधारा-चाँदनीमा सुख्खा बन्दगाह रणनैतिक महत्वको भएको गजुरेल बताउँछन् । यस अघि उत्तरतर्फ चीन र दक्षिणतर्फ भारतीय सहयोगमा व्यापार पूर्वाधार बन्ने गरेकोमा दोधारा-चाँदनीमा भने आफ्नै अनुभव प्रयोग गरेर आयोजना सम्पन्न गरिने उनले बताए । ‘हामीले चोभारमा आफ्नै अनुभवले आयोजना सम्प्पन उन्मुख अवस्थामा पुगेका छौं, त्यो अनुभव दोधारा- चाँदनीमा प्रयोग गछौं,’ कार्यकारी निर्देशक गजुरेलले भने । भारत र चीनले बनाएका पूर्वाधार उनीहरुको व्यापार अनुकुलता हुँदा हरेक वर्ष नेपालले पूर्वाधारमा काम गर्न परेको भन्दै उनले दोधारा-चाँदनीमा आयात र निर्यातका पूर्वाधारमा कुनै कमी हुन नदिइने दाबी गरे ।