धनगढीबाट पनि श्रम स्वीकृति दिन सुरु

धनगढीबाट पनि श्रम स्वीकृति दिन सुरु

धनगढी : सुदूरपश्चिम प्रदेशको धनगढीस्थित श्रम तथा रोजगार कार्यालयबाट पनि पुनः श्रम स्वीकृति दिन सुरु भएको छ ।

शुक्रबार बिहान सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले धनगढी स्थित कार्यालयबाट पुनः मलेसिया जान लागेका कैलालीको गौरिगगा नगरपालिका, ६ वनवेहडाका गोर्खबहादुर खवासलाई पुनः श्रम स्वीकृति प्रदान गर्दै सेवा सुरू गरेका हुन । 

त्यस्तै, मन्त्री सुवेदीले सो अवसरमा पुनः साउदी अरव जान लागेका कैलालीको धनगढी उपमहानगरपालिका, २ का दान सिंह बोहरालाई पुनः श्रम स्वीकृति प्रदान गरेका थिए । 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागको कामलाई विकेन्द्रीत गर्ने अभियान अन्तरगत पहिलो चरणमा वैदेशिक रोजगारीमा जानेलाई पुनः श्रम स्वीकृति दिन थालेको हो । 

यसअघि प्रदेश–२ को जनकपुर, प्रदेश ५ को बुटवल, प्रदेश ४ को पोखरा र कर्णाली प्रदेशको सुर्खेतबाट सेवा सुरु भइसकेको छ । प्रदेश कार्यालयहरुबाट पहिलो चरणमा पुनः श्रम स्वीकृतिको काम सुरु भएको हो । 

पहिलो चरणमा पुनः श्रम स्वीकृति मात्रै वितरण हुने भएपनि छिट्टै पूर्व स्वीकृतिको काम पनि प्रदेश कार्यालयबाटै हुनेछ ।