एमालेको बैठक सम्पन्न : १९ जनाको स्थायी कमिटी गठन, कर्णालीका ४ सांसदलाई कारबाही

एमालेको बैठक सम्पन्न : १९ जनाको स्थायी कमिटी गठन, कर्णालीका ४ सांसदलाई कारबाही

नेकपा एमाले दशौं महाधिवेशन आयोजक केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले १९ जनाको स्थायी कमिटी बैठक गठन गरेको एमाले पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकले नेकपा एमाले कर्णाली प्रदेशको संसदीय दलको सिफारिस अनुसार चार जना सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकाे अध्यक्षतामा भएको बैठकले प्रदेशसभासद् प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई निष्काशन गरेको पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । 

यसअघि सत्तारुढ नेकपा एमालेले २७ जना सांसदलाई पार्टीहित विपरीत गतिविधि गरेको भन्दै माधवकुमार नेपाल पक्षका नेताहरुलाई स्पष्टीकरण मागेको थियो ।

स्पष्टीकरणहरु केही ई–मेल र केही पत्रमार्फत प्राप्त भएको एमाले सचेतक विशाल भट्टराईले जानकारी दिनुभएको थियो ।समानान्तर गतिविधि गर्दै आएकाहरुबारे निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई प्रदान गरिएको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

आज बसेको बैठकले पार्टीमा समानान्तर गतिविधि सञ्चालन गर्दै आएको खनाल–नेपाल पक्षलाई पनि पार्टीको मूलधारमा आउन आव्हान गरेको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।आजको बैठकले कार्यविभाजन लगायत नेकपा एमालेमा भर्खरै प्रवेश गरेका रामबहादुर थापा बादल लगायतका नेताहरुलाई पनि स्थायी कमिटीमा समावेश गरेको छ ।