आज लोकतन्त्र दिवस: स्थापनाको १५ वर्ष पूरा राजनीतिक उपलब्धि भए पनि विकृति उस्तै

आज लोकतन्त्र दिवस: स्थापनाको १५ वर्ष पूरा राजनीतिक उपलब्धि भए पनि विकृति उस्तै

आज लोकतन्त्र दिवस । २०६२/६३ जनआन्दोलन सफल भएर लोकतन्त्र स्थापना भएको सम्झनामा आज लोकतन्त्र दिवस मनाइँदै छ ।

१५ वर्षअघि २०६३ साल वैशाख ११ गते राति तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गर्नुभएको थियो ।

पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो । जनआन्दोलनमा कमाण्डर समेत रहेका नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सर्वदलीय सरकारले २०६४ चैत २८ गते पहिलो संविधानसभाको चुनाव गराएको थियो ।

संविधानसभाको २०६५ साल जेठ १५ गतेको बैठकले नेपालमा राजतन्त्र अन्त्य भएको घोषणा गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देश बनाएको थियो । दोस्रो जनआन्दोलनले सङ्घीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षताजस्ता नेपालको मौलिक विशेषतासहितको प्रणालीलाई स्थापित गरेको छ ।

राज्यका हरेक तहमा ३३ प्रतिशत महिलाको सहभागितालाई सुनिश्चित गरेको छ । पछाडि पारिएका वर्ग, क्षेत्र, तह तथा तप्कालाई राज्यको मुल प्रवाहमा ल्याइएको छ । सात प्रदेश र अधिकार सम्पन्न ७५३ पालिकामार्फत जनताले गाउँमै सिंहदरबार पाउने सेवा तथा सुविधा पाएका छन् । राजाबाट खोसेर नागरिक आफैंले निर्माण सुरु गरेको नयाँ नेपालको खाका बन्दै गरे पनि नागरिकका अपेक्षा सबै पूरा हुन सकेका छैनन् ।

राजनीतिक उपलब्धि प्राप्त भए पनि संसदीय प्रणाली र सार्वजनिक सेवा प्रवाहलगायतका विषयमा देखिएका विकृति उस्तै रहेको भन्दै नागरिक असन्तुष्ट छन् । परिवर्तनलाई संस्थागत गर्ने र व्यवहारमा लोकतान्त्रिक चरित्र देखाउने काममा सरकार र राजनीतिक दल चुकेकाले नागरिकका सपना अझै पूरा हुन नसकेको गुनासो छ ।