दार्चुलामा अक्सिजन सिलिण्डर संकलन गरेर अस्पतालमा बुझाउँदै प्रहरी

दार्चुलामा अक्सिजन सिलिण्डर संकलन गरेर अस्पतालमा बुझाउँदै प्रहरी

दार्चुला । कोरोनाको बढ्दो संक्रमणसँगै अक्सिजन सिलिण्डरको अभाव हुन थालेपछि जिल्ला प्रहरी कार्यालय दार्चुलाले सिलिण्डर संकलन गर्न थालेको छ । जिल्लाका अस्पतालहरुमा अक्सिजनको कमी हुने अवस्था आउन थालेपछि प्रहरीले विभिन्न क्षेत्रबाट अक्सिजन सिलिण्डर संकलन सुरु गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले ३ थान अक्सिजन सिलिण्डर संकलन गरि शुक्रवार जिल्ला अस्पताल दार्चुलालाई हस्तान्तरण गरेको प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए । अस्पताललाई २ थान भरिएको तथा एक थान खाली सिलिण्डर बुझाइएको छ ।

जिल्लास्थित विभिन्न उद्योग, सप्लायर्स, ग्यारेज, ग्यास वेल्डिङ तथा अन्य संघसंस्थासँग रहेका खाली तथा भरिएका अक्सिजन सिलिण्डर पछि फिर्ता गर्ने गरी संकलन गर्दै अस्पताललाई बुझाइएको उनले बताए ।

‘सम्बन्धित उद्योग, व्यवसायी, संस्था तथा कम्पनीहरुलाई पछि फिर्ता गर्ने गरी यस जिल्ला प्रहरी कार्यालय दार्चुला तथा मातहत कार्यालयबाट समेत संकलन गरि वर्तमान संक्रमणको अवस्थामा संक्रमित बिरामीहरुको उपचारार्थ अस्पतालहरुमा पठाउने गरी अक्सिजन ग्यास सिलिण्डरहरु संकलन गरिरहेका छौ,’ प्रहरी नायव उपरीक्षक भट्टले भन्नुभयो ।

प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत खाली तथा भरिएको सिलिण्डर सङ्कलन गर्ने अभियान प्रहरीले जारी राखेकाले सो अभियानमा कोभिड रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्न उनले आग्रह गरे ।