यो कसको पहलमा भएको हो ?

यो कसको पहलमा भएको हो ?

मध्ये रातको साढे ३ बजेको थियो । एकजना बिरामीका आफन्तको फोन आयो । झट्ट बिउझिएँ ... कुराकानी भयो, सक्ने सल्लाह दिएँ ।

निदाउन खोजें ! बाहिर छुट्टै खालको आवाज सुनियो । एकछिन तर्सिएझैं भए । आफुलाई सम्हालें । सुनेझैं जस्तो लागिरहेको थियो त्यो आवाज । कसको हो ? कता सुनेको ह ? ठ्याक्कै ठम्याउन सकेन । एकदमै चिनेझैं लागिरहेको थियो बाहिरबाट आईरहेको आवाज ।

यो कस्तो आवाज ! एकोहोरो गतिमा सुस्त सुस्त आईरहेको थियो । बेलाबेलामा डराउन अनि तर्साउन खोजिरहेझैं लागिरहेको थियो । म त्यो आवाज अनि परिस्थितिबाट आफुलाई पर राख्न खोजिरहें । जति कोसिस गर्दा पनि नसुनेझैं गर्न सकिरहेको थिएन ।

अब के गरौं ! न त बाहिर गएर केही गर्न सकिरहेको थिएँ । जसोतसो ध्यान आफैतिर केन्द्रित गरें अनि निदाउन खोजें । तर, त्यो सम्भव भएन र निन्द्रा लाग्नै मानेन । बाहिरको अर्कै किसिमको आवाजले मन आत्तिएझैं भईरह्यो ।

मन आत्तियो ! अनि आँखिर किन यस्तो भैरहेको छ जस्तो लाग्यो । साँच्चिकै भएको हो कि ? भएझैं लागेको मात्र हो ? भन्ने पनि भयो । निकैबेर मनभरी खुल्दुली भयो । बेलाबेलामा डर पनि लाग्यो । धेरै बेरपछी मनमा एउटा प्रश्नमा आएर अडियो ...।

थुप्रै कुराहरू मनमा ब्युझिए ! आज यो सब के भैरहेको छ ? यो कसरी सम्भव भैरहेको छ ? मलाई यस्तो किन लागिरहेको छ ? के मलाई लागेको कुरा साँच्चै हो त ? मैले बाहिर सुनेको आवाज के पक्कै गुन्जिएको हो त ? बाहिरको स्थिति अनि परिस्थिति आफैमा सत्य हो त ?

धडधड धडधड धरधर धरधर तडतड तडतड तरतर तरतर धेरैदिन देखि कोसिस गरिरहेको बादल आज कसरी बर्सिन सकेछ ? वर्षातको झरिले आफ्नो सुन्दरता प्रकट गरेकै हो त ? भएभरका दु:ख, कष्ट, पीडा, रोग ब्याध पखाल्न आएकै हो त ? आँखिर यो कसको पहलमा सम्भव भएको हो ? #यो_कसको_पहलमा_भएको_हो ?

जोसुकैको पहलमा बर्सिएको भएपनी ! ४ ठाउँमा १६ पटक ६४ जनाले फोटो खिचेका, अक्सिजनका रित्ता सिलिन्डर जस्तो नहोस् । आफ्ना हनुमानहरु तिर मात्रै सोझिने, अनुदान अनि राज्य ढुकुटीका गतिविधि जस्तो नहोस् ।

आफ्नै गोजिबाट दिएजस्तो ! निर्लज्ज नेताहरूको फुई अनि नामकै लागि, काठमाडौ बाट दुर्गम जिल्ला खाली खाली पुगेजस्तो नहोस् । सिलिन्डर पनि कति अभागी सोच्दो हो, फेरि ट्रकमा लोड भएर भरिनका लागी सुगम गएजस्तो नहोस् । भ्याक्सिन आएजस्तो नहोस् ।

स्वास्थ्य सामाग्री आएजस्तो नहोस् । जोसुकैको पहलमा आएको भएपनी, भएभरका दु:ख, कष्ट, पीडा, रोग ब्याध पखालेर जाओस् । अनि फेरि सोध्नेछौं हामी, #यो_कसको_पहलमा_भएको_हो ?