समृद्धि घर घर अनि रोजगारी हात हात आउँछ

समृद्धि घर घर अनि रोजगारी हात हात आउँछ

समृद्धि घर घर अनि रोजगारी हात हात आउँछ।
जसरी यहाँ मनसुन सुरु भएपछि बर्सात आउँछ।

जनताले सोध्छन मन्त्रीज्यू खोप कहिले आउँछ,
उहाँ भन्नुहुन्छ ढुक्क हुनुस यो अकस्मात आउँछ।

मलाई अचम्म लाग्छ कसरी चाहिने कुरा नआउने 
यो दिमागमा कहाँबाट नचाहिने खुरापात आउँछ।

लोकतन्त्र गणतन्त्रले के फरक भयो?जनतालाई 
चिन्ता र पीडा उहीँ कसरी कहाँबाट भात आउँछ।

भाषणमा बर्गका कुरा गर्ने नेतालाई आफन्त भए
अवसर आउदा न बर्ग आउँछ न त जात आउँछ। 

नदेखिने नसुनिने भएको छ खोपी-भित्र सरकार,
भक्तालु त्यसैगरी आउँछन जसरी बराँत आउँछ।

जनताको लागि चुनाव त्यसै गरी आउँछ जसरी,
प्रेमीलाई बर्षौपछिको अवसर मुलाकात आउँछ। 
                         २०७८/०२/०६ महेन्द्रनगर