कोरोना महामारीमा ५० प्रतिशत कामले पायो निरन्तरता

कोरोना महामारीमा ५० प्रतिशत कामले पायो निरन्तरता

काठमाण्डौः कोभिड–१९ का कारण काठमाण्डौँ महानगरपालिकामा सञ्चालित विकास निर्माणको काम ५० प्रतिशतले मात्र निरन्तरता पाएको छ।

कामपाले चालु आर्थिक वर्षमा साना ठूला गरी १०५ वटा विकास निर्माणका काम शुरु गरेको भए पनि विश्वभरि फैलिएको दोस्रो लहरको कोरोना महामारीका कारण अहिले ५० वटा कामले मात्र निरन्तरता पाएको छ। 

“महामारी नियन्त्रणका लागि अहिले देश बन्दाबन्दीको अवस्थामा छ, अत्यावश्यक बाहेकका अन्य काम भएका छैनन्, आवश्यक पर्ने कामदार र निर्माण सामग्रीको पनि अभाव भएको र आयात गर्न समस्या भएकाले निर्माणको काममा समस्या आएको हो”, कामपा भौतिक पूर्वाधार विकास विभागका प्रमुख राम थापाले भने। 

उनका अनुसार वडा नम्बर २, ३, ६, २२ र २३ मा भइरहेको सडक कालोपत्र गर्ने, ढल व्यवस्थापन, सडक बत्ती राख्ने र उद्यान निर्माणको काम अहिले रोकिएको छ। त्यसैगरी अन्तिम चरणमा पुगेको कमलपोखरी पुनः निर्माणको थोरै काठको काम बाँकी रहेको र त्यसका लागि भक्तपुरबाट कामदार ल्याउनुपर्ने भएकाले अहिलेका लागि त्यो पनि रोकिएको थापाले जानकारी दिए। त्यस्तै अन्य वडामा सञ्चालनमा रहेको केही विकासका कामले भने निरन्तरता पाएका छन्। 

चालु आवका लागि कामपाको भौतिक पूर्वाधारका लागि ३ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको थियो। उक्त बजेटमध्ये हालसम्म २२ प्रतिशत मात्र खर्च भएको बताइएको छ।

थापाले भने, “विकास बजेट धेरै खर्च हुने समय चैत, वैशाख, जेठ र असार हो, यही समयमा कोरोना महामारीले थलिएर बस्नु परेको छ त्यसैले विकास खर्च हुन सकेको छैन।”

कामपाले चालु आवका लागि १५ अर्ब ५० करोड बजेट विनियोजन गरेको थियो।