सांसदको संसदमा भाषण : काम कुरा एकातिर, कुम्लोबोकि ठिमितिर

सांसदको संसदमा भाषण : काम कुरा एकातिर, कुम्लोबोकि ठिमितिर

धनगढी : सुदूरपश्चिम प्रदेश सभा गठन भएको एक बर्ष पुरा भएको छ । प्रदेश सभा सदस्यहरुले माघ ७ गते सपथ ग्रहण गरेसंगै प्रदेश सभाका दुई वटा अधिबेशन समेत सकिएका छन् । 

हाल प्रदेश सभाको तेस्रो अधिबेशन चलिरहेको छ । तर अझै पनि कतिपय सांसदहरुले संसदमा बोल्दा के बोल्ने र के नबोल्ने भन्ने मेसो पाउन सकेका छैनन् । 

माघ १४ गतेको प्रदेश सभा बैठकमा बोल्ने सासंदहरुलाई बिधेयकको सैद्धान्तिक पक्ष माथि छलफल गर्न भन्दै सभामुख अर्जुन बहादुर थापाले समय दिएका थिए । 

तर दुबै विधेयक माथि छलफलमा भाग लिएका अधिकांश सासंदहरुले विधेयक माथि छलफल गर्नुको सट्टा समसामयिक समस्यामा सरकारको ध्यानाकर्षण गराए ।  विशेष समय वा शुन्य समयमा बोल्दा समसामयिक समस्यामा सरकारको ध्यानाकर्षण गराउने प्रचलन छ ।

माघ १४ गते प्रदेश सभा सचिवालयले प्रदेश सभा बैठकमा सासंदहरुले प्रदेश सरकारको ध्यानानकर्षण गराउन बोल्न पाइने लागि बिशेष समय छुट्ट्याएन । सो बैठकमा सभामुख अर्जुन बहादुर थापाले सोझै प्रदेश सभा सञ्चालन सम्बन्धमा बनेको विधेयकमाथिको सामान्य छलफल प्रारम्भ गरेका थिए । 

प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बाहेराले समान्य छलफल प्रारम्भ होस भनी पेश गरेको प्रस्ताव पारित भए लगत्तै सो विधयेकको सैद्धान्तिक पक्षमाथि छलफलमा भाग लिन सभामुखले राष्ट्रिय जनता पार्टीका सासंद कृष्ण चौधरीलाई समय दिए । 

सासंद चौधरीले छोटो समयमा विधेयकमाथि चर्चा गरेर फर्के पनि त्यसपछि पालो पाएकी कांग्रेस सांसद अम्बीकुमारी थापाले विधेयक माथि कम, अन्य प्रसंगमा बढी समय खर्चिइन । 

विधेयक माथि छलफलमा भाग लिएकी सासंद थापाले काठमाण्डौंमा अनसनरत चिकित्सक डा. गोबिन्द केसीको ज्यान जोगाउन संघीय सरकारको ध्यानाकर्षण गराउनुदेखिे बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई नयाय दिन समेत माग गर्न भ्याईन् । 

त्यही विधेयक माथि छलफल गर्न समय पाएकी नेकपाकी सांसद देवकी मल्लले समेत विषय भन्दा बाहिर गएर सरकारको ध्यानाकर्षण गराईन् । उनले विधेयकबारे छलफल गर्नुको साटो हालै हिमपातका कारण बाटो अवरुद्ध भएपछि समस्यामा परेका यात्रीहरुका समस्याबारे ध्यानाकर्षण गराईन् । 

सभामुख थापाले बिषय बाहिर नजान सचेत गराउँदा समेत सांसद मल्लले बेवास्ता गर्दै लगातार बिषय बाहिर गएर बोलिरहिन । 

प्रदेश सभा सञ्चालन गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक माथि छलफल सकिएपछि सभामुख थापाले लगत्तै सुदूरपश्चिम प्रदेशको सहकारी सम्बन्धी विधेयक माथि छलफल प्रारम्भ गरे । 

यस विधेयक माथि छलफलमा भाग लिएका नेकपाका सासंद बलदेव रेग्मी र कांग्रेस सांसद श्यामलाल राना बाहेक सबैले विषयभन्दा बाहिर गएर भाषण ठोक्न भ्याए । 

छलफलमा भाग लिएकी राजपा सासंद मालामति रानाले पनि सहकारी विधेयकको बारेमा केही नबोली निर्मला पन्तको न्याय र डा. गोबिन्द केसीको जीवन रक्षाको माग गरिन् । 

सहकारी सम्बन्धी विधेयक माथि भइरहेको छलफलमा भाग लिएका नेकपाका सासंद रतन थापाले समेत बिषय बाहिर गएर प्राकृतिक प्रकोपबाट पीडितलाई राहत दिन माग गरे । 

प्रदेश सभा सञ्चालन गर्न बनेको अन्तरिम नियमावलीले शुन्य समय र बिशेष समयमा मात्रै सासंदहरुले बिबिध बिषयमा बोल्न पाउने ब्यवस्था गरेको छ । 

शुरुवातको अवस्थामा सिक्दै गरेको भन्ने गरिएपनि एक बर्ष बितसकेकोले अब भने सिक्दैछु भन्ने छुट नहुने राजीतिक बिश्लेषकहरुको भनाई छ । 

राजनीतिक बिश्लेषकहरुका अनुसार जुन कुरामा बोल्नका लागि सभामुखले रोष्ट्रममा बोलाए, त्यसै बिषयमा मात्रै कुरा गर्नुपर्छ । तर सासंदहरुले तेस्रो अधिबेशनमा पुग्दा समेत बिषयभन्दा बाहिर गएर बोल्न छोडेका छैनन् ।