गणतन्त्रको संस्थागत विकासका लागि राष्ट्रिय एकता जरुरी छ : सभामुख सापकाेटा

गणतन्त्रको संस्थागत विकासका लागि राष्ट्रिय एकता जरुरी छ : सभामुख सापकाेटा

विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकाेटाले गणतन्त्रको संस्थागत विकासका सुदृढ राष्ट्रिय एकता जरुरी भएको बताउनुभएकाे छ ।  गणतन्त्र दिवसकाे अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उहाँले मुलुक अहिले अप्ठेराे अवस्थामा रहेकाे बताउनुभएकाे हाे ।

‘जनताको जित भएको विशेष दिन गणतन्त्र दिवस रहेकाे भन्दै यस अवसरमा देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उहाँले शुभकामना सन्देशमा भन्नुभएकाे छ, ‘नेपाली जनताका प्रतिनिधिमार्फत् २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट घोषणा गरिएको गणतन्त्र जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल हो । यो महत्वपूर्ण दिनमा गणतन्त्र स्थापनाका लागि भएका जनयुद्ध, १९ दिने जनआन्दोलन एवं विभिन्न संघर्षहरुमा प्राण उत्सर्ग गर्ने सम्पूर्ण महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । घाइते तथा अपाङ्ग हुनुभएकाहरु, बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु ।’

हजाराैकाे बलिदानीबाट प्राप्त गणतन्त्रलाई संस्थागत गर्नु, संविधानको कार्यान्वयन गर्नु र संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी सिद्धान्तलाई संविधानले निर्दिष्ट गरेअनुसार कार्यान्वयन गर्नु र गराउनु राज्यको सर्वाेच्च ओहोदामा रहेका पदाधिकारीहरुको पहिलो कर्तव्य भएकाे उहाँकाे भनाइ छ ।

‘हामी एकातिर गणतन्त्र र संविधानमाथि आइपरेको संकट र अर्कोतिर कोभिड–१९ महामारीबाट आक्रान्त छौं । यस विषम परिस्थितिमा अझ जिम्मेवारीबोधका साथ अगाडि बढ्नु पर्ने आवश्यकता पैदा भएको छ,’ सभामुख सापकाेटाले थप भन्नुभएकाे छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि अझ सुदृढ राष्ट्रिय एकता जरुरी भएको छ । संविधान अनुरुप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन भए मात्र यसको औचित्य स्थापित हुने छ ।’