सगरमाथामा सर्वाधिक उचाइको फेसन सोको दोस्रो सिजन हुने

सगरमाथामा सर्वाधिक उचाइको फेसन सोको दोस्रो सिजन हुने

विश्वकै सर्वाधिक उचाइमा फेसन सो आयोजना हुने भएको छ । भारतको इन्डेमोल साइन इन्डियाले आगामी सेप्टेम्बरमा माउन्ट एभरेस्ट फेसन रनवे गर्न लागेको हो ।

५८ सय मिटरको उचाइको सगरमाथा क्षेत्र, ३० डिग्री तापक्रम र ५० प्रतिशतभन्दा कम अक्सिजन उपलब्ध हुने थलोमा रनवेको दोस्रो सिजन गर्न लागिएको हो ।

कार्यक्रम आयोजनाका लागि कम्पनीले नेपालको के फिल्म र मीटु फिल्मससँग सहकार्य गर्ने भएको छ । गतवर्षको जनवरीमा कालापत्थरमा आयोजना गरिएको रनवे चर्चित भएपछि पुनः दोस्रो सिजन गर्न लागिएको हो ।

अघिल्लो सिजनमा १८ देशका प्रतिनिधिले जलवायु परिवर्तन र दिगो फेसन अवधारणामा रहेर डिजाइन प्रस्तुति दिएका थिए । सोही समयमा नेपालले सर्वाधिक उचाइमा फेसन सो आयोजना गरेको भन्दै गिनिज बुकले विश्व रेकर्डको प्रमाणपत्र पनि दिएको छ ।

नुहाउँदा र लुगा धुँदा पानीको कम खपत गर्ने प्रविधि प्रयोग गरेर हिमालको ५० हजार लिटरभन्दा बढी पानीलाई जोगाउने मुख्य उद्देश्यले फेसन रनवे गर्न लागिएको इन्डेमोल साइन इन्डियाका सीइओ अभिषेक रेजेले बताए ।

रनवेका मेन्टर पंकज गुप्ताले दोस्रो सिजनमा थप कीर्तिमानहरु निर्माण हुन सक्ने बताउँछन् ।