युनिसेफको सहयोगमा रेडक्रसद्वारा कैलालीमा नि:शुल्क यातायात सेवा संचालन

युनिसेफको सहयोगमा रेडक्रसद्वारा कैलालीमा नि:शुल्क यातायात सेवा संचालन

नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाले कैलाली जिल्लामा भारतबाट नेपाल फर्किनेहरूका लागि नि:शुल्क यातायात सेवा सुरु गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको साझेदारी एवं युनिसेफ नेपालको सहयोगमा कैलाली जिल्ला शाखाद्वारा सञ्चालित "कोभिड १९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम" ले भारत देखी धनगढी गौरीफन्टा नाकाबाट नेपाल फर्किने कोरोना पोजेटिभहरूका लागि कैलाली जिल्लाभित्र सम्बन्धित व्यक्तिको होम आइसोलेसन तथा संस्थागत आइसोलेसन सम्म नि:शुल्क यातायात सेवा सुरु गरेको हो ।

भारत देखी नेपाल फर्किने क्रममा सीमामा एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएकाहरूलाई एक महिनासम्मका लागि नि:शुल्क यातायात सेवा संचालन गरिने नेपाल रेडक्रस सोसाइटी कैलाली कोभिड १९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रमका कार्यक्रम संयोजक बिकास नेपालीले जानकारी दिनुभएको छ ।

निःशुल्क यातायात सेवाको उद्घाटन धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड र नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका सभापति उत्तम जोशीले  संयुक्त रुपमा गर्नुभएको हो । निःशुल्क यातायात सेवा अन्तर्गत पहिलो दिन ८ जनालाई र दोस्रो दिन १२ जनालाई गरि २० जनालाई सेवा प्रदान गरेको छ ।

पहिलो दिन ७ जना सुखड र १ जना भजनीका कोभिड पोजेटिभ लाई तथा दोस्रो दिन १२ जना भजनीका कोभिड पोजेटिभलाई होम आइसोलेसन एवं संस्थागत आइसोलेसन सम्म पुर्‍याइएको कार्यक्रम संयोजक नेपालीले जानकारी दिनुभएको छ । हाललाई कैलाली जिल्लाभित्र सेवा दिने उद्देश्य राखिएको भएपनी केही दिन पछि सुदूरपश्चिम प्रदेशका अन्य जिल्लाहरूमा समेत निःशुल्क यातायात सेवा प्रदान गरिने रेडक्रसले जनाएको छ ।

कार्यक्रम अन्तर्गत रेडक्रसले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा न्यूनीकरणका लागि लम्की चुहा नगरपालिका,भजनी नगरपालिका र धनगढी उपमहानगरपालिकामा एक हप्ता सम्म चेतनामूलक सूचना माइकिङ, गौरीफन्टा नाकाबाट नेपाल भित्रिने यात्रुहरूका लागि हेल्पडेस्क स्थापना गर्नुका साथै खानेपानीको समेत व्यवस्थापन गर्दै आएको छ ।