कैलालीको बसन्तामा वन्यजन्तुको चोरी सिकारी बढ्यो

कैलालीको  बसन्तामा वन्यजन्तुको चोरी सिकारी बढ्यो

कैलाली-कैलालीको संरक्षित वनक्षेत्र बसन्तामा पछिल्लो समय चोरी सिकार बढेको छ। कोरोना महामारी नियन्त्रण गर्न जारी गरेको निषेधाज्ञाको मौका छोपेर सिकारीले वन्यजन्तु तथा चराचुरुङ्गीको सिकार गर्न थालेका हुन।

निषेधाज्ञाको क्रममा गाउँ फर्किएका र बेरोजगार व्यक्तिहरु दिनदहाडै वन्यजन्तुको सिकार गर्न बसन्ता वन क्षेत्रमा पस्ने गरेको वन अधिकारीको भनाई छ।
बसन्ता अन्तर्राष्ट्रिय जैविकमार्ग हो। यहाँको ठूलो फाँटा रहेको झारा तालतिर सिकारीहरुले वन्यजन्तुको सिकार गरिरहेको वन अधिकारीको बताउँछन्।

निषेधाज्ञाको क्रममा काठ तस्करीभन्दा पनि वन्यजन्तुको चोरी सिकार ठूलो समस्याको रुपमा देखिएको सव डिभिजन वन कार्यालय पचमुडियाका सहायक वन अधिकृत विश्वराज पण्डितले बताए।

‘दिउँसै बन्दुक पड्केको आवाज सुनिन्छ’, उनले भने, ‘हाम्रो गस्ती टोली घटनास्थलसम्म पुग्दासम्म सिकारीहरु भागिसकेका हुन्छन्।’ खराब नियतका मान्छेहरुले बन्दुक, पासो प्रयोग गरेर वन्यजन्तुको सिकार गरिरहेको पण्डितले बताए।यसैगरी, सिकारीहरुले गोहोरो मार्ने र रुखै ढालेर गुँडबाट सुगाको बच्चा निकाल्ने कार्य गरिरहेको उनको भनाइ छ।